दाङ,पुस २३ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा आगामी फागुन २ देखि १८ गतेसम्म घोराहीमा छैठौं व्यापार, कृषि एवं पर्यटन तथा व्यापार महोत्सव २०८१ सञ्चालन हुने भएको छ ।
‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ सञ्चालन हुने महोत्सवबारे संघले सोमबार घोराहीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
‘उद्यमशीलता र उद्यमीको विकास गर्ने महोत्सवको लक्ष्य छ’– संघका अध्यक्ष वसन्त जोशीले भने– ‘मुख्य रुपमा उत्पादन कसरी बढाउने भन्नेमै केन्द्रित रहनेछौं ।’
उनले यस अघिका महोत्सव र महायज्ञबाट सभाहल, सहिद गेट निर्माण, होलेरी स्वर्गद्वारी सडक ट्रयाक खोल्ने काम भएको बताए ।
महोत्सवको कमाइबाट संघले समाजको लागि, सामाजिक काममा खर्च गरेको जानकारी दिए । यसपटक महोत्सवमा फिस टनेल ल्याएर दर्शकलाई नौलो अनुभूति गराउने बताए ।
औद्योगिक तथा व्यापारिक वस्तुहरुको प्रदर्शन एवं बिक्री, हस्तकला, कृषि, जडिबुटीको प्रदर्शनी हुनेछ ।
पर्यटन एवं सूचना प्रविधिको प्रदर्शनी, बिभिन्न प्राविधिक विषयका विज्ञसहितको अन्तक्र्रिया, सांस्कृतिक तथा मनोरञ्जनका कार्यक्रम, बाल उद्यान, विभिन्न जात जातिका कला साहित्य झल्किने झाँकी तथा सांस्कृतिक कार्यक्रम, सरकारी गैरसरकारी संस्थाका गतिविधिहरु स्टलमा राखिने छन् । लुम्बिनी प्रदेशका जिल्लाका उत्पादनहरुको स्टल रहनेछन् ।
पाँच लाखले महोत्सव अवलोकन गर्ने र २० करोड रुपैयाँको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।

