देउखुरी, पुस २२ । लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौंपाने यातायात क्षेत्रको सुधारका क्रियासिल बन्दै गएका छन् ।
पहिलो चरणका बाँकेको कोहलपुरमा शाखा कार्यालय विस्तार गरेको मन्त्री न्यौंपानले थप तीन जिल्लामा यातायात व्यवस्था कार्यालय सञ्चालनको योजना बनाएको जानकारी दिए । बर्दिया, कपिलवस्तु र प्यूठानमा यातायात व्यवस्था कार्यालय सञ्चालनमा ल्याएर सेवा विस्तार गर्ने योजनामा मन्त्रालय रहेको मन्त्री न्यौपानले बताए ।
यातायात सम्बन्धी सेवालाई विस्तार गर्ने निर्णयका साथ मन्त्रालयले केही समय अघि कार्यदल बनाएको थियो ।
यातायात सम्बन्धी सेवालाई सहज र सबैको पहुँचमा बनाउन आँफु लागि परेको मन्त्री न्यौंपानेले बताए ।
यातायात क्षेत्रको सुधारका लागि गठित कार्यदलको सुझावका आधारमा लुम्बिनी प्रदेशमा प्रदेश सरकारले यातायात सम्बन्धी सेवा विस्तार गर्न थालेको उनले बताए ।
मन्त्रालयले गठन गरेको कार्यदललाई सेवाग्राहीहरुले यातायात सेवालाई विस्तार गरिनु पर्ने र सबैको पहुँचमा यातायात सम्बन्धी सेवा पुरयाइनु पर्ने सुझाव दिएका थिए । यो सुझावका आधारमा मन्त्रालयले यातायात क्षेत्रको सुधारको पहिलो योजना बनाउँदै यातायात सेवा कार्यालय विस्तारको कामलाई अघि बढाएको हो । मन्त्रालयले यसै योजना अन्तर्गत पहिलो चरणमा बाँकेको कोहलपुरमा यातायात कार्यालयको शाखा बिस्तार गरेको छ ।
मन्त्रालयले बाँकेको कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्नु पर्ने भन्दै मन्त्री परिषदमा सिफारिस गरेको थियो । केही दिन अघि बसेको लुम्बिनी प्रदेश मन्त्री परिषद बैठकले बाँकेको कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने निर्णय पारित गरेको थियो । मन्त्री परिषदबाट भएको निर्णय बमोजिम कोहलपुरमा सेवा विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।
यसअघि बाँकेको नेपालगन्जमा यातायात कार्यालय रहेको र कोहलपुर आसपासका नागरिकलाई सेवा लिन कठिनाई बन्दै आएको सुझाव सेवाग्राहीले दिँदै आएका थिए । ‘यातायात क्षेत्रको सुधारका लागि मन्त्रालयले एउटा कार्यदल बनाएर अध्ययन गरेको थियो, कार्यदलको अध्ययनका क्रममा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गरिनु पर्ने देखियो,’ उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने ‘यो अध्ययन अनुसार हामीले यातायात कार्यालयको सेवा विस्तार गर्ने योजना बनाएर अघि बढेका हौँ, र पहिलो चरणमा बाँकेको कोहलपुरमा सेवा विस्तार गर्ने निर्णय मन्त्रीपरिषदबाट भएको छ, अब चाँडै सेवा सुरु हुने छ ।’
मन्त्रालयले थप आर्थिक भार नपर्ने गरि यातायात कार्यालयको सेवा विस्तार गर्ने छ । शाखा कार्यालयका रुपमा सेवा विस्तार गर्न थालेको मन्त्रालयले शाखा कार्यालयमा कर्मचारीको व्यवस्थापन यातायात कार्यालयबाटै व्यवस्थापन हुने भएका छन् । शाखा कार्यालयका लागि नयाँ कर्मचारी नथप्ने निर्णय मन्त्रालयको छ ।
‘यातायात शाखा कार्यालयका रुपमा सेवा विस्तार गर्ने हाम्रो योजना हो,’ मन्त्री न्यौपाने भन्छन् ‘संघीयताको मर्म अनुसार सेवा पनि विकेन्द्रीकरण हुनुपर्छ भन्ने मान्यतामा रहेर मन्त्रायले यातायात समबन्धी सेवा विस्तारको काम थालेको हो ।’
बाँकेको कोहलपुरमा रहेको शाखा कार्यालय मार्फत सवारी चालक अनुमती पत्र नविकरण, सवारी दर्ता किताव नविकरण र पटके सेवा प्रदान गरिने भएको छ । ‘कोहलपुरबाट पनि यातायात सम्बन्धी सेवा प्रदान गर्ने निर्णय धेरै राम्रो कदम हो,’ कोहलपुरका एक स्थानीयले मन्त्री न्यौपाने संग भने ‘यो निर्णयले कोहलपुरबासीलाई मात्रै हैन, कोहलपुर आसपासका क्षेत्रका सेवाग्राहीलाई पनि धेरै सहज हुने भएको छ ।’
पहिलो चरणका बाँकेको कोहलपुरमा शाखा कार्यालय विस्तार गरेको मन्त्रालयले तीन जिल्लामा यातायात व्यवस्था कार्यालय सञ्चालनको योजना बनाएको छ । बर्दिया, कपिलवस्तु र प्यूठानमा यातायात व्यवस्था कार्यालय सञ्चालनमा ल्याएर सेवा विस्तार गर्ने योजनामा मन्त्रालय रहेको मन्त्री न्यौपानले जानकारी दिए ।
उनका अनुसार यि तीन जिल्लामा सञ्चालनमा आउने यातायात व्यवस्था कार्यालयले यातायात सम्बन्धी सम्पूर्णको काम गर्ने छन् । ‘कोहलपुरमा शाखा कार्यालय विस्तार पछि अब हामी बर्दिया, प्यूठान र कपिलवस्तुमा यातायात व्यवस्था कार्यालय सञ्चालनको तयारीमा जुटेका छौँ, हामी ठाउँ छनौट देखि यसको प्रकृयाका बारेमा छलफल गरिरहेका छौँ,’ मन्त्री न्यौपानेले भने ‘केही दिनमै निर्णय गरेर यि तीन जिल्लामा यातायात व्यवस्था कार्यालय सञ्चालनको प्रकृया अगाडी बढाउने छौँ ।’
मन्त्री न्यौंपानेका अनुसार कोहलपुरमा रहेको शाखा कार्यालय भन्दा फरक यि तीन जिल्लाबाट यातायात सम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिने छ ।
मन्त्रालयले दुई पांग्रे सवारी साधनको मात्रै लाइसेन्स सेवा प्रदान गर्दै आएको नवलपरासीमा चारपांग्रे सवारी साधनको समेत लाईसेन्स प्रदान गर्ने गरि सेवा थप गरेको छ ।
चारपांग्रे सवारी साधनको समेत ट्रायलको व्यवस्था गर्ने निर्णय गरेको मन्त्रालयले अब त्यहाँ चारपांग्रे सवारी साधनको समेत ट्रायल सुविधा थप गरिएको छ । ‘नवलपरासीमा दुई पांग्रे सवारी साधनको मात्रै ट्रायलको व्यवस्था थियो, चारपांग्रे सवारी साधनका लागि त्यहाँ सुविधा थिएन,’ मन्त्री न्यौपानेले भने ‘चारपांग्रे सवारी साधनको ट्रायलको सेवा पनि नवलपरासीमा थप भएको छ, अब त्यहाँका नागरिकहरुलाई नवलपरासीमै चारपांग्रे सवारी साधनको लाईसेन्सका लागि बाहिर कुद्नु पर्ने बाध्यता हटेको छ ।’
सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न आवश्यक्ताका आधारमा अन्य स्थानमा पनि कार्यालय तथा शाखा कार्यालय विस्तारको काम गर्ने योजना मन्त्रालयको छ ।