तुलसीपुर, पुस १९ । अबदेखि २५ लाख राजश्व बुझाउनलेहरुले मात्रै तुलसीपुरमा मेला महोत्सव लगाउन पाउने भएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काको अध्यक्षतामा शुक्रबार बसेको २८औं कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।
अबदेखि उपमहानगरलाई २५ लाख राजश्व बुझाउनेलाई मात्रै मेला मेहोत्सव सञ्चालन गर्न दिने निर्णय बैठकले गरेको एक जना वडाध्यक्षले फरककोणलाई बताए ।
‘ अबदेखि यहाँ कुनैपनि संघ संगठनले मेला महोत्सव लगाउन चाहे उनीहरुले उपमहानगरपालिकालाई २५ लाख बुझाउनु पर्ने छ,’ ती वडाध्यक्षले नाम उल्लेख नगर्ने सर्तमा भने ‘ बैठकले यो पटक च्याम्बर अफ कमर्षलाई मेला लगाउन दिने निर्णयपनि गरेको छ ।’
यसअघि मेला महोत्सव लगाउने संघ संगठनहरुले धरौटीका रुपमा उपमहानगरलाई एक लाख रुपैंया राख्नु पर्ने प्राबधान थियो । त्यस्तै शुक्रबारको पालिका बैठकले माघ २१ गतेदेखि हिउँदे अधिबेसन सुरु गर्ने निर्णयपनि गरेको छ ।
साथै बैठकले माघ महिनादेखि मेयर कप खेलकुद प्रतियोगिता पनि सुरु गर्ने निर्णय गरेको छ ।