तुलसीपुर,पुस १५ । कुनै समयमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको कालाखोला विद्यालय नजिकै ठुलै मेला लाग्ने गर्दथ्यो । त्यो मेला तुलसीपुर क्षेत्रकै पहिचानकोरुपमा रहेको मेला थियो ।
ऐतिहासिक रुपमा अहिलेको तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १७ मानपुरमा कृष्णअष्टमीको समयमा,त्यस्तै वडा नम्बर १८ मनिकापुरमा शिवाकोटी मेला लाग्ने गर्दथ्यो ।
मानपुर र मनिकापुरमा लाग्ने मेला इतिहास भएपनि भोटे मेलाको अस्तित्व भने अझैँ रहेको देखिन्छ । चार वर्ष पहिले मात्रै कालाखोलामा शिवरात्रीको अवसरमा भोटे मेला आयोजना गरिएको थियो ।
तुलसीपुर उपमहानगरपालिका नवदुर्गा सामुदायिक वन क्षेत्रमा रहेको गुम्बामा तमु ल्होसार पर्वका अवसरमा आयोजना गरिएको मेलामा भने तुलसीपुरमा आयोजना गरिने सबै खाले मेला महोत्सव विर्साउने भीड लागेको थियो ।
तमु ह्यूल छोंज धी गुरुङ राष्ट्रिय परिषद् इकाईले तमु ल्होसार पर्वका अवसरमा विशेष कार्यक्रम समेत आयोजना गरेको थियो । तमु ह्यूल छोंज धी गुरुङ राष्ट्रिय परिषद् दाङका सचिव टेकबहादुर गुरुङले यस क्षेत्रमा कार्यक्रम गर्दै आएको २१ वर्ष पूरा गरेको बताए ।
उनले ल्होसार पर्व नाचिने रोधी,घाटु नाँचले पारिवारीक सुख दुःख साट्ने,आफैले उत्पादन गरेका वस्तुको बजारीकरण,प्रवर्धनमा जोड दिने र देश विकास,शान्ति र समृद्धीका कुरा समेटिने बताए ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३का वडाध्यक्ष वीरबहादुर विश्वकर्माले पालिकाको सबैभन्दा बढी गुरुङ समुदायको बसोबास वडा नम्बर ३मा रहेको र यो पर्व यस समुदायकै पहिचान संस्कृति झल्काउने अवसरको पर्वकारुपमा रहेको बताए ।
उनले यस पर्वलाई निरन्तरता दिनका लागि वडाकातर्फबाट सहयोग गर्ने बताए । वडा नम्बर ९ का वडाध्यक्ष घनश्याम ढकालले यस क्षेत्रको कला,संस्कृति पहिचान झल्काउने अवसरकारुपमा यस मेला पर्वलाई लिनुपर्ने बताए ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले तमु ल्होसार पर्वलाई तुलसीपुर उपमहानगरपालिकाले विशेष महत्वकारुपमा विगतदेखि नै प्रचार,प्रसार र प्रवर्धन गर्दै आएको बताए ।
नगरप्रमुख खड्काले ल्होसार पर्वकारुपमा आयोजना गरिने मेला महोत्सवले गुरुङ समुदायको कला संस्कृतिको जर्गेना,प्रचार प्रसारका साथै महोत्सवमा समुदायको खाना परिकारलाई बजारीकरण गर्न सके आयस्रोतको राम्रो माध्यम बन्ने बताए ।
उनले पालिकाभित्र रहेका जातजातिका कला,संस्कृतिको जर्गेना गर्नका लागि कार्यपालिकाले ललितकला,संस्कृति साहित्य विकासका लागि ऐन ल्याउन थालिएको बताए ।
उनले ऐनका विषयमा सरोकारवालाबीच छलफल सुरु गरिएको समेत बताए ।
२०७८ सालको जनगणनाअनुसार तुलसीपुर उपमहानगरपालिकाभित्र गुरुङ जातिको जनसंख्या आठ सय ३५ रहेको छ ।
यसैबीच तमु ह्यूल छोंज धी गुरुङ राष्ट्रिय परिषद् इकाई समिति वडा नम्बर ३ले सोमबार विशेष कार्यक्रम आयोजना गरेको छ ।
इकाई अध्यक्ष मञ्जु गुरुङको अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यता र वडा नम्बर ३का वडाध्यक्ष वीरबहादुर विश्वकर्मा तथा वडा नम्बर ९का वडाध्यक्ष घनश्याम ढकालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सल्लाहकार सुरेश गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

