तुुलसीपुर, पुस ५ । तुलसीपुरको बिजौरीमा पसलमा सामान किनिरहेका दुई युवकमाथि धारिलो हतियार ग्राँसी प्रहार भएको छ ।
तुलसीपुर उपमहानगरपालिका – ७ का ३० बर्षीय सुरेश रसाइली र २८ बर्षीय सुरज पुनमाथि पसलमा सामान किनिरहेको समयमा युवाहरुको एक समुहले ग्राँसी प्रहार गरेको थियो ।
ग्राँसी प्रहार बाट रसाइलीको बाँया कानको नजिक गहिरो घाउ खत लागेको छ भने पुनको बाँया हात फ्याक्चर भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।
घाइते दुबैलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नरिसिंह होममा रिफर गरिएको छ । तुलसीपुर – १८ माल बिजौरीस्थित किराना पसलमा सामान किन्न गएका रसाइली र पुनमाथि राति १० बजेतिर स्थानीय ३२ बर्षीय प्रकाश चौधरी, ३० बर्षीय सन्दिप चौधरी र ३१ बर्षीय रेशम चौधरीले ग्राँसी प्रहार गरेका थिए ।
ग्राँसी प्रहार आक्रमणको घटनामा संलग्न मध्य राति प्रकाश चौधरीलाई प्रहरीले पक्राउ गरेको भएपनि अन्य दुई जना फरार रहेको तथा खोजी जारी रहेको प्रहरी निरीक्षक थापाले बताए ।
पुरानो रिसिवीका कारण रसाइली र पुनमाथि उनीहरुले ग्राँसी प्रहार गरेको हुन सक्ने प्रहरीको आशंका छ ।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।

