दाङ,पुस २ । एम्नेस्टी इन्टरनेसनल नेपालको अध्यक्षमा विपिन बुढाथोकी निर्वाचिन भएका छन् ।
एम्नेस्टी इन्टरनेसनलको मङ्सिर २९ र ३० गते नवलपरासीको गैँडाकोटमा भएको ३३औँ वार्षिक साधारणसभाले बुढाथोकीलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित गरेको हो ।
साधारणसभाले कोषाध्यक्षमा होमबहादुर अधिकारीलाई चयन गरेको छ । यसैगरी राष्ट्रिय बोर्ड सदस्यमा सचिता कुइँकेल, केशव पोखरेल, पूजा थापा, मौसम कार्की, एलिसा महत, मीना थापा, बैकुण्ठप्रसाद अर्याल, लोकेन्द्र सिंह र सुमन कुमार चयन भएका छन् ।
तीनवर्षे कार्यकालका लागि निर्वाचित पदाधिकारीले युवा, महिला र सीमान्तकृत समुदायको प्रतिनिधित्व गर्छन् ।
साधारणसभामा संस्थाका निर्देशक निराजन थपलियाले यस वर्षको साधारणसभालाई अत्यन्त समावेशी र पारदर्शी बनाएको बताउँदै भने, ‘नयाँ नेतृत्वले मानव अधिकार आन्दोलनमा नयाँ दृष्टिकोण ल्याउने अपेक्षा गरिएको छ ।’
साधारणसभाले आर्थिक वर्ष २०८०÷०८१ का प्रतिवेदनहरू, वार्षिक मानव अधिकार कार्ययोजना र बजेट पारित गरेको छ ।
सन् २०२५ का लागि मानव अधिकार कार्ययोजना तय गरिएको छ । साधारणसभामा द्वन्द्वकालीन मानव अधिकार उल्लङ्घनका विषयमा सरकारलाई जवाफदेही बनाउने विषयमा छलफल गरिएको थियो ।
नवनिर्वाचित अध्यक्ष विपिन बुढाथोकीले संस्थाको भविष्य र रणनीतिक योजनाबारे आफ्नो दृष्टिकोण व्यक्त गर्दै मानव अधिकार संरक्षण र जवाफदेहिताको प्रवर्धनमा निरन्तर प्रतिबद्धता जनाएका छन् ।
साधारणसभाको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगन थापाले गरेका थिए ।

