२०८१ माघ १० गते बिहिवार

जहाँ कक्षा ३ र ४ का विद्यार्थी एउटौ कोठामा पढाइन्छन्

शान्तिनगर, मंसिर २४ । दाङको शान्तिनगर गाउँपालिका ४ जुम्लेकुलामा रहेको सरस्वती आधारभूत विद्यालयको दृश्य देख्दा जो कोहीलाई अनौठा लाग्न सक्छ ।


विद्यालयमा एउटै कक्षा कोठामा २ वटा कक्षाको पढाइ हुँदै आएको छ, भने बाहिर पनि पढाइ हुने गरेको छ । रोचक कुरा के छ, भने दुई वटा कक्षाका विद्यार्थी भुइँमा बसालेर नै शिक्षिकाहरुले पढाउने गरेका छन्, भने विद्यार्थीहरू पनि कसले के पढाएको छ, भन्ने रनभूल्मा हुन्छन् ।

विद्यालयमा विद्यार्थी धेरै भएर वा कोठा अभाव भएर होइन् । विद्यालयको कोठाहरू गाउँपालिकाका शाखाहरू रहँदा यस्तो समस्या भएको हो ।


विद्यालयमा यो शैक्षिकसत्रमा ३६ जना विद्यार्थी भर्ना भएका थिए । नियमित रुपमा विद्यार्थी भने त्यसको आधा मात्र आउने गरेका छन् । कक्षा ८ सम्म पढाई हुने विद्यालयमा विद्यार्थी अभावका कारण कक्षा ६ सम्म मात्र पढाइ हुन्छ । विद्यालयका अनुसार बाल विकासमा १२ जना, कक्षा १ मा ५ जना, कक्षा २ मा ४ जना, कक्षा ३ मा ५ जना, कक्षा ४ मा ५ जना, कक्षा ५ मा ९ जना र कक्षा ६ मा ६ जना भर्ना भएकोमा ४ जना मात्र विद्यार्थीहरू विद्यालय आउने गरेका छन् ।

एउटै कोठामा २ वटा कक्षाका विद्यार्थीलाई पढाउँदा समस्या हुने विद्यालयकी शिक्षिका लोका केसीले बताइन् । उनले भनिन्,‘ एउटा कक्षा कोठामा २ वटा कक्षाका विद्यार्थी बसालेर पढाउँदा डिस्टप हुन्छ । तर, पनि हामीले मिलाएर आ–आफ्नो कक्षाका विद्यार्थीहरूलाई पढाउने गरेका छौँ ।’

गत भदौ महिनादेखि विद्यालयमा विद्यार्थीलाई यसरी नै पढाउँदै आएको छ । उनका अनुसार विद्यालयलाई कोठाको अभाव नभइ गाउँपालिका सरेर जुम्लेकुला आएपछि विद्यालयका केही कोठामा कार्यालयहरू रहँदा समस्या भएको हो । उनले भनिन्,‘ विद्यार्थी एउटा कक्षामा २ र ३ जना भएपनि आआफ्ना कक्षा कोठामा पढाउँदै आएका थियौँ । गाउँपालिका आएपछि यसरी पढाउन बाध्य भयौँ ।


उनले विद्यार्थी संख्या कम भएको र भर्ना भएका विद्यार्थीपनि सबै विद्यालय नआउने गरेको बताइन् । कुनै समय ४ ÷ ५ सय विद्यार्थी यो विद्यालयमा पढ्थे । अहिले यस्तो अवस्था उत्पन्न हुनुमा नजिकै खुलेका निजी विद्यालय कारक हुन भन्ने उनलाई लाग्छ ।

विगत २६ वर्षदेखि यो विद्यालयमा निरन्तर पढाउँदै आएकी बताउने उनले कक्षा ४ का ३ जना विद्यार्थीलाई पढाउँदै थिइन् । संगसंगै सोही कोठामा अर्की शिक्षिका पुष्पा केसीले पनि कक्षा ३ का २ जना विद्यार्थीलाई पढाउँदै थिइन् । उनले पनि कोठाको अभावका कारणले पढाइमा समस्या भएको बताइन् ।

उनका अनुसार कक्षा ३ मा ५ जना भर्ना भएपनि नियमित विद्यालय आउनेको संख्या ४ जना मात्रै छ । ती मध्य त्यो दिन २ जना मात्र आएका थिए ।अर्की शिक्षिका यमुना पौडेलका अनुसार कक्षा २ मा ४ जना विद्यार्थी भर्ना भएपनि त्यो दिन कुनै विद्यार्थी उपस्थित थिएनन् । उनका अनुसारक कक्षा कोठामा नियमित ३ जना विद्यार्थी आउने गर्छन । बालविकासमा १२ जना भर्ना भएकोमा ८ जना नियमित आउने गरेको उनले बताइन् ।

उनले भनिन,‘ बालविकास र कक्षा १ का विद्यार्थीलाई सँगै राखेर पढाउने गरेका छौँ । बालविकासका २ बजे घर गएपछि मात्र कक्षा १ का विद्यार्थी एक्लै पढाउने गरेका छौं । यसरी पढाउँदा विद्यार्थीहरूलाई मात्र नभइ हामीलाई पनि डिस्पट हुने गर्दछ । तर, के गर्नु बाध्यताले यसरी पढाउनु परेको हो ।’

अभिभावक चिन्तित

स्थानीय मैमान परियारले आफ्ना छोराछोरीले सानोमा यही विद्यालयमा पढेका हुन । अहिले नातिनी कक्षा १ मा पढ्दै छिन् । पहिलेको तुलनामा विद्यालयको अवस्था नाजुक रहेको परियारले बताए । उनले भने,‘ ४देखि ५ सय विद्यार्थी हुने विद्यालयमा अहिले विद्यार्थी खोज्नु पर्ने बाध्यता छ । सबै अभिभावकको मन जित्नको लागि शिक्षा गुणस्तर हुनु पर्छ । त्यो यहाँ खस्किदै गएको अवस्था छ ।’


अर्का अभिभावक रेशमबहादुर केसीले आफूले आफ्नो छोरालाई यही विद्यालयमा भर्ना गरेका छन् । पहिला विद्यालय राम्रो भएयता पनि विस्तारै विद्यार्थी घट्दै गइरहेको उनले. पनि बताए । उनले भने,‘ विद्यालय राम्रो भएको कारण मैले व्यक्तिगत लगानीमा विद्यालय परिसरमा सरस्वतीमा मन्दिर बनाएको थिए । अहिलेको अवस्था देख्दा मेरो लगानी बालुवामा पानी भयो भन्ने लाग्छ ।’

उनी विद्यालयलाई राम्रो बनाउन शिक्षक, अभिभावक सबै लाग्नु पर्नेमा त्यसो हुन नसकेको ठान्छन् । उनले भने,‘ पैसा हुनेका छोरीछोरी निजी विद्यालयमा पढ्ने गरेका छन् । निम्न आर्थिक भएका छोराछोरी मात्र यो विद्यालयमा पढ्न आउँछन् । सरकारी विद्यालयले पनि शिक्षामा सुधार गर्न आवश्यक छ । सबै विद्यार्थी निजीमा गए, भनेर शिक्षकहरुले भन्नु भन्दा पनि राम्रो शिक्षा कसरी दिने र विद्यार्थी कसरी तान्ने भन्नेमा ध्यान दिन जरुरी छ ।’


उनले आफूले आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाउन सक्ने भएपनि आफ्नै गाउँ ठाउँको विद्यालय भएको हुँदा र यसलाई राम्रो बनाउनु पर्छ, भन्ने हेतुले छोरालाई यही पढाएको बताए । राज्यले पनि सरकारी विद्यालयमा करोडौँको लगानी गरेको हुँदा कुनै पनि विद्यालयहरुलाई बचाउन आवश्यक रहेको उनी ठान्छन् ।

विद्यालयका प्रधानध्यापक दिनेशकुमार वलीले आफू २०७८ सालदेखि यस विद्यालयको प्रअको जिम्मेवारीमा छन् । सोही समयदेखि विद्यार्थीहरुको संख्या ५० जना बाट घट्दै गएका हुन । यो बर्ष ३६ जना मात्रै भर्ना भएको उनले बताए । उनका अनुसार विद्यालयमा विद्यार्थी संख्या कम हुनुमा हुने खाने परिवारले नजिकैमा निजी विद्यालय रहेको हुँदा छोरा छोरी त्यही पढाउन पठाउने गर्दा समस्या भएको हो ।

आर्थिक अवस्था कमजोर भएका, घरमा अभिभावक नभएका लगाएत विद्यार्थी मात्रै आफ्नो बिद्यालयमा भर्ना हुने गरेको उनले बताए । उनका अनुसार विद्यालयमा ७ जना शिक्षक शिक्षिकाहरु कार्यरत छन् । ३ जना स्थायी, २ जना गाउँपालिकाको अनुदान र २ जना बालविकासमा अध्यापन रत छ्न । उनले विद्यालय यस्तो अवस्थामा आउनुमा शिक्षकहरु मात्र नभइ यहाँका अभिभावक पनि कमजोरी रहेको बताए ।

उनले भने,‘ शिक्षकले अभिभावकलाई दोष लगाउने र अभिभावकले शिक्षकलाई दोष लगाउने अवस्था छ । हामीले विद्यालयलाई राम्रो बनाउनको लागि अंग्रेजी माध्यामबाट पनि पढाएका थियौँ । तर, पनि अभिभावकले विद्यार्थी भर्ना गर्न ल्याउनु भएन् । हामीले हाम्रोतर्फबाट विद्यालय राम्रो बनाउन लागि परेका छौँ ।’

त्यस्तै उनले गाउँपालिका जुम्लेकुला आएपछि विद्यालयमा विद्यार्थी संख्या कम भएको हुँदा केही समयलाई विद्यालयको कक्षा गाउँपालिकाले प्रयोेग गर्ने र ठुला कोठालाई दुई भाग बनाएर पढ्ने बातावरण मिलाउने भनेर गाउँपालिकाले भनेको हुँदा अहिलेसम्म त्यो काम नहुँदा समस्या भएको बताए । दुई वटा कक्षाका विद्यार्थीलाई हाल एउटै कोठामा राखेर पढाउनु पर्ने बाध्यता रहेको बताए ।

शान्तिगर गाउँपालिकाका शिक्षा शाखा अधिकृत सुमन पाण्डेका अनुसार शिक्षा नियामवली अनुसार हिमाल, पहाड र तराइमा एक जना शिक्षक बराबर विद्यार्थी सङ्ख्या फरक फरक रहेको र तराईमा एक जना शिक्षक बराबर एक कक्षा कोठामा ५० जना विद्यार्थी हुनु पर्दछ । उनले अहिले धेरै विद्यालयहरु नियामवली र मापदण्ड अनुसार संचालन नभएको समेत बताए । उनले भने,‘ एक शिक्षक बराबर ५० जना विद्यार्थी हुनु पर्ने भयता पनि अहिले धेरै विद्यालयमा त्यो पुग्ने सम्भावना छैन् । तर, थोरै विद्यार्थीहरू भए भन्दैमा पढाउन नमिल्ने हैन् । एक जना विद्यार्थी भएपनि उसको पढ्न पाउने अधिकार छ । ’

उनले विद्यालयको बारेमा शिक्षा समिति र कार्यापालिकामा जानकारी गराउँदै आएको समेत धारणा ब्यक्त गरे । उनले शिक्षा नियम र मापदण्ड अनुसार विद्यालय संचालन गर्न खोजेमा कुनै पनि विद्यालय चल्न नसक्ने समेत उल्लेख गरे ।
त्यस्तै उनले आफूले दैनिक जसो विद्यालय अनुगमन गर्दै आइरहेको भन्दै सरस्वती आधारभूत विद्यालयको भवनका केही कोठामा गाउँपालिका रहेको हुँदा समस्या भएको स्वीकार गरे ।

अहिले विद्यालय परिसरमा गाउँपालिकाको शिक्षा, स्वास्थ्य लगायत शाखाहरू रहेको समेत उनले बताए । उनले विद्यालयमा कोठाको अभावले अहिले समस्या भएको भन्दै ठुला कोठाहरू भएको र विद्यार्थी संख्या कम हुँदा दुई भाग बनाएर कोठा बनाउने कुरा भएपनि ढिलाई भएको हुँदा समस्या भएको बताए ।

प्रकाशित मिति : २०८१ मङ्सिर २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *