तुलसीपुर, मंसिर १९ । ‘बित्तीय आतंक बिरुद्ध लाल आतंक अभियान’ सञ्चालनको घोषणा पछि बिभिन्न ब्यक्तिमाथि अभद्र ब्यबहार गर्दै आएको नेकपा बहुमतले फेरि मिटरब्याजीका बिरुद्ध १५ दिने अल्टिमेटम सार्वजनिक गरेको छ ।
नेकपा बहुमतका दाङ जिल्ला सेक्रेटरी अमरको नामबाट जारी १५ दिने सार्वजनिक सूचनामा बिभिन्न बित्तीय संघ संस्था, सहकारी, मिटर ब्याजी र सुदखोरहरुका नाममा छ ।
एक नम्बरमा बैंक कुुसुर, चेक अनादर, घर जग्गा तथा सम्पत्ति रोक्का, बिगो बराबरको रकम जम्मा गरि जेल हाल्ने लगाएतका मुद्दा फिर्ता लिन भनिएको छ ।
त्यस्तै कालोसूची हटाउन, दुष्टिबन्धक तथा छिनुवा पास लिएका घर जग्गा फिर्ता गर्न भनिएको छ । यसमा अनुत्पादक ऋणको हकमा साँवा मात्रै लिएर तथा उत्पादक ऋणको हकमा सरकारी बैंकको सहुलियत ब्याजदर लिन चेतावनी दिइएको छ ।
तीन नम्बर बुँदामा मिटरब्याजी र बैंक तथा बित्तीय संस्थाको सेटिङमा लिलाम गर्ने र लिलाम सकारेका घर जग्गा सम्बन्धित ब्यक्तिलाई लिलाम हुँदासम्मको न्यूनतम ब्याज लिइ फिर्ता गर्न नेकपा बहुमतले माग गरेको छ ।
सूचनाको अन्त्यमा नेकपा बहुमतले मिटर ब्याजी पिडित बनेर पार्टीलाई गुम्राहामा राख्नेमाथि पनि कारबाही हुने चेतावनीपनि दिएको छ ।
यो भन्दा पहिले नेकपा बहुमतले मिटर ब्याजीको आरोपमा घोराहीका एक ब्यापारीमा माथि कालोमोसो दलेको थियो भने केही दिन पहिले मात्रै एक दम्पत्तिको नाक काटिदिएका थिए ।
जिल्लाका प्रहरी अधिकारी भने नेकपा बहुमतले कानुन हातमा लिने ज्याजदी गरेको हुँदा उनीहरुको खोजी भइ रहेको बताउँदै आएका छन् । घटनामा संलग्न ब्यक्तिहरुको खोजी भइरहेको हुँदा उनीहरुलाई पक्राउ गरि कारबाही गरिने प्रहरी अधिकारीहरु बताउँदै आएका छन् । कसैको धम्कि वा सार्वजनिक सूचनाबाट बिचलित नहुन प्रहरीले बताउँदै आएको छ ।
तर, हालसम्म प्रहरीले घटनामा संल्गन ब्यक्तिहरुलाई नियन्त्रणमा लिन सकिरहेको छैन ।

