बर्दिया, मंसिर १५ । वन्यजन्तु प्रभावितहरुका लागि प्रदान गरिने क्षतिपूर्तिको प्रकृया सरल र छरितो नभएको गुनासो प्रभावित क्षेत्रका स्थानीयले गरेका छन् ।
समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले बर्दियाको मधुवन नगरपालिका – २ खैरेनीमा शुक्रबार आयोजना गरेको ‘वातावणीय न्याय र जवाफदेहिताका लागि गोलघर सम्वाद’कासहभागीहले त्यस्तो गुनासो गरेका हुन् ।
खैरेनीमा विशेष गरी बाँदर, बाघ र हात्तीको आतंक रहेको सहभागीहरुले वताएका थिए । बाँदरले लगाएको तरकारी बाली, सुकाएको अन्न बाली चोरेर खाइदिने गरेको र बाघले जंगलमा बाख्रा चराउन जाँदा र खोर भित्रैका बाख्रा, सुँगुर खाइदिने गरेको गंगा पटुवा सामुदायिक वन उपभोक्ता समितिका सदस्य मीना थारुले बताइन । उनले हात्तीहरुले बेला बेला आएर घर भत्काइदिने र अन्नबाली खाइदिने गरेको समेत गुनासो गरिन ।
वन्यजन्तु पीडीतहरुले पाउनुपर्ने राहत झन्झटिलो भएको गंगापटुवा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ढिक रामथारुले बताए ।
गाउँघरका सुँगर बाख्रा बाघले मारिदिएको सिफारिस खाता सामदायिक वन समन्वय समितिमा पठाएको भएतापनि पीडितहरुले अझैसम्म राहत नपाएका गुनासो गरे ।