तुलसीपुर, मंसिर १२ । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड नेपालगञ्ज बाँकेलाई थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाएको छ ।
राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको निष्कृय कर्जा उच्च भएको फेला पारेपछि नयाँ निक्षेप खाता खोल्न, थप निक्षेप संकलन गर्न र थप कर्जा प्रवाह गर्न रोक लगाएको हो ।
राष्ट्र बैंक बित्तीय संस्था सुपरिवेक्षण बिभागले मंसिर ११ गते सार्वजनिक सूचना जारी गर्दै कर्णाली डेभलपमेन्ट बैंक माथि त्यस्तो रोक लगाएको हो । कर्णाली विकास बैंकको निष्कृय कर्जा अनुपात ४०.८५ प्रतिसत मात्रै फेला परेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
राष्ट्र बैंकको पछिल्लो निरीक्षण प्रतिबेदन अनुसार कर्णाली विकास बैंकको कर्जा नोक्सानी ब्यबस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा तोके बमोजिमको न्यूनतम पूँजीकोष अनुपात कायम नहुने देखिएको थियो ।
त्यसैका आधारमा राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक माथि आजदेखि नै लागु हुने गरि सेवाग्राहीको नयाँ खाता खोल्न, पैंशा जम्मा गर्न, लोन दिन र थप कर्जा प्रवाह गर्न प्रतिबन्ध लगाएको हो ।
नेपाल राष्ट्र बैंक, बैंक तथा बित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी नियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिना भित्र संस्थाको नयाँ ब्यबस्थापनले उक्त संस्थाको वित्तीय परिसुचकहरुमा सुधार गर्ने सर्तमा थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाएको हो ।
यसअघि कर्णाली विकास बैंकको, नेपालगञ्ज शाखाका कर्मचारी तथा सञ्चालक समितिको मिलेमतोमा नक्कली ऋणीहरु खडा गरि किर्ते गरि सर्वसाधारणको नाममा रकम हिनामिना गरेका खबरहरु सार्वजनिक भएका थिए ।
राष्ट्र बैंकको पछिल्लो निर्णयले बाँकेको नेपालगञ्जमा प्रधान कार्यालय रहेको कर्णाली विकास बैंक थप समस्यामा पर्ने देखिएको छ । यो बैंक बाँके, बर्दिया र दाङमा सक्रिय छ । बैंकका १८ वटा शाखा छन् । यो बैंक मध्यपश्चिम र सुदूरपश्चिमको पहिलो विकास बैंकपनि हो ।

