लमही, कात्तिक ३० । लमही नगरपालिका–४ अर्नवाका २० वर्षीय अस्कर बस्नेत र १८ का अरुण बस्नेत सहोदर दाजु भाइ हुन ।
अस्कर लमहीस्थित आदर्श माविमा डिप्लोमा इन सिभिल इन्जिनियर तेस्रो वर्षमा अध्ययनरत छन । यतिखेर उनको परीक्षा चलिरहेको छ । उनका भाइ अरुण सोही विद्यालयमा १२ मा व्यवस्थापन संकायमा अध्ययनरत छन् ।
उनीहरु दुबै दाजु भाइ बिहान कलेज पढ्छन् भने दिन भर आफ्नै ‘रोयल यूनिसेक्स स्यालुन’मा कपाल काट्छन् ।
यो पसल उनीहरुले डेढ बर्ष पहिला पाँच लाखमा अर्कै ब्यक्तिबाट किनेका हुन । त्यसमा आँफुहरुले पनि डेकोरेसन गरेका छन् ।
यी दाजु भाइ लमही – ५ स्थित बजारमा कपाल काट्दै आफ्नै पढाइ खर्च आँफै जुटाइ रहेका मात्रै छ्रैनन् बरु घर खर्चपनि धान्दै आएका छन् ।
‘बिहान कलेज जान्छौं र दिउँसोको समयमा कपाल काट्छौं,’ अरुणले भने ‘ त्यसै खाली बस्नु भन्दा केही गर्नु पर्दछ भनेर व्यवसाय सुरु गरेका हौं ।’
उनीहरुका बुवा कतारबाट फर्किदा कपाल काट्ने मेसिन लिएर आएका थिए । कोरोना भाइरस महामारीको समयमा लकडाउन थियो । त्यो समयमा एकले अर्काको कपाल काट्दा काट्दै उनीहरुलाई यही पेशा राम्रो रहेछ भन्ने लागेर सुरु गरेको अरुण बताउँछन् ।
यो बीचमा अरुण काठमाडौं गइ तीन महिना कपाल काट्ने तालिम पनि लिएर आएका थिए ।
अहिले उनीहरुले मासिक दस हजार रुपैयाँ तिरेर सटर भाडामा लिएर व्यवसाय सञ्चालन गरेका छन । उनीहरुको स्यालुन राम्रो चलेको छ ।
यी दाजु भाइको मेहनत देखेर उनीहरुका सहपाठीदेखि सबै खुसी छन् ।
‘अरु बिदेश जान लागे तर हामीलाई यही केही गर्नु पर्छ भन्ने लाग्यो,’ अस्करले भने ‘ मैले भाइ बाटै कपाल काट्न सिकेको हुँ । हामी मिलेर काम गरि रहेका छौं।’
लमहीमा एक जना पुरुषको कपाल काटेको एक सय रुपैयाँ रेट छ । उनीहरु दैनिक तीन हजारदेखि चार हजारसम्म कमाइ गर्छन ।
यो पसल बिस्तार विस्तार गर्दै लैजाने उनीहरुको चाहाना छ ।
‘हामी दाजु भाइको विदेश जाने सोच छैन,’ उनले भने ‘ यो पेशा राम्रो लाग्यो अब यस्लाई थप बिस्तार गर्दैै अगाडि बढ्ने सोच बनााएका छौैं ।’
उनका बुबा गोपाल बस्नेत भने बस चालक हुन । अहिले उनीहरुको आफ्नै बस छ । बिदेश जानु भन्दा पहिला उनी अर्कैको बस चलाउँथे । फर्केर आएपछि फेरि बस किनेका छन् ।