२०८१ मङ्सिर १९ गते बुधवार

लुम्बिनी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा मन्त्री ढकाल

दाङ,कार्तिक २५ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललाई दिएका छन् ।

छिमेकी देश चीन भ्रमणमा जान लागेका मुख्यमन्त्री आचार्यले आफु नफर्किँदासम्मका लागि मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएको प्रदेशका प्रमुख सचिव महादेव पन्तले जानकारी दिए ।

मुख्यमन्त्री आचार्यले आइतबारदेखि लागू हुने गरी लुम्बिनी प्रदेश सरकार कार्य सम्पादन नियमाली २०७४ पछिल्लो संशोधनको नियम १४ को उपनियम ३ बमोजिम मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको कार्यसम्पादन गर्ने गरी जिम्मेवारी तोकेको सचिव पन्तले मध्यान्हलाई बताए ।

नेपालको संविधान र अन्य प्रचलित कानूनको अधिनमा रही तोकिएको कार्य जिम्मेवारी सम्पादन गर्न अनुरोध गरिएको छ ।

सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्य अर्थमन्त्री धनेन्द्र कार्की प्रमुख सचिव महादेव पन्तसहित ७ सदस्यीय प्रतिनिधिमण्डल चीन जान लागेको हो ।

सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न (नोभेम्बर ११ देखि १३) कात्तिक २६, २७ र २८ गते अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।

यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्तबीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।

भ्रमणका क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुई पक्षीय सहयोग र सहकार्यका बारेमा समेत उच्चस्तरीय भेटवार्ता हुने मुख्यमन्त्रीको सचिवालयले दाबी गरेको छ ।

वि.सं. २०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्तबीच भगिनी सम्बन्ध कायम गरिएको थियो । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले सिचुआन प्रान्तसँग भगिनी सम्बन्ध कायम गरेका थिए ।

कृषि, उद्योग, पर्यटनलगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *