तुलसीपुर, कात्तिक १३ । दाङको तुलसीपुुर उपमहानगरपालिका – ८ दुधेनाकी ५३ बर्षीया तिलकुमारी विश्वकर्मा ठूलो परिमानमा ‘ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल’ सहित पक्राउ परेकी छन् ।
यो क्याप्सुल औषधिको सेवनले मानिसलाई लठ्याउने काम गर्छ । लागु औषध सेवन कर्ताले किशोर किशोरीले ट्रामाडोल प्रयोग गर्ने गर्छन ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसी अनिल ठकुरीका अनुसार विश्वकर्मा ‘अन्टी’ नामबाट प्रयोग कर्ताको बीचमा परिचित थिइन ।
पछिल्लो समय तुलसीपुर क्षेत्रवाट पक्राउ परेका अधिकाँस लागुऔषध प्रयोगकर्ताले उनको नाम पोलेपछि प्रहरीले उनीमाथि अनुसन्धान थालेको बताउँछ ।
कात्तिक ११ दिउँसो इप्रका तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले लागुऔषधको अबैध कारोबारी मानिने ‘अन्टी’लाई हिडिरहेको समयमा खानतलासी गर्दा ५० एमजीका ३५ वटा पत्तामा ३५० ट्याबलेट बरामद गरेको थियो ।
दुधेनास्थित उनको घरबाट थप ‘ट्रामाडोल’ ट्याबलेट ५० एमजीको २३४ पत्ताहरु फेला परेको प्रहरी निरीक्षक थापाले बताए ।
घरबाट दुई हजार तीन सय ४० ट्याबलेट फेला परेको प्रहरी निरीक्षक थापाले बताए । ठूलो परिमानमा ‘ट्रामाडोल’ ट्यावलेट बरामद भएपछि लागु औषध प्रयोग कर्ताको लागि डिलर मानिएकी ‘अन्टी’ यतिखेर प्रहरी हिरासतमा छिन ।
प्रहरीले अर्का एक जना प्रतिबन्धित लागु औषध ब्राउन सुगरका ‘डिलर’लाई पनि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । मध्य असोज यता तुलसीपुर क्षेत्रमा ब्राउन सुगरसहित पक्राउ परेका पाँच जना र घोराहीका एक जनाको बयानका आधारमा ३१ बर्षीय बिक्रम केसी पक्राउ छन् ।
प्रहरी केसी पनि डिलर नै भएको दाबी गर्छ । पक्राउ परेकाहरु माथि थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।