दाङ, कात्तिक १२ । सल्यानको कपुरकोटमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । थप दश जना घाइते भएका छन् ।
कपुरकोट गाउँपालिकका अध्यक्ष दुर्गाबहादुर पुनका अनुसार कपुरकोट – ६ का १३ बर्षीया सृजना बस्नेत, १४ वर्षीय गोबद्र्धन खड्का र १२ वर्षीय डिल्ली भनिने अनिल भण्डारीको मृत्यु भएको छ । बस्नेतको उपचारका क्रममा कपुरकोटस्थित स्वास्थ्य चौकीमा मृत्यु भएको थियो ।
खड्का र भण्डारीको भने घटनास्थलै मृत्यु भएको अध्यक्ष पुनले बताए ।
दुर्घटनामा परि १३ वर्षीया खुमा बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीतसागर बस्नेत, १७ वर्षीय संजिव बस्नेत, २९ वर्षीय शंकर खडका, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत पुन, गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारी र सहचालक १८ रोनक भण्डारी घाइते छन् ।
घाइते मध्य हिक्मत पुनको त्रिवेणी गाउँपालिको लुहामस्थित पोलिक्लिनिकमा उपचार भइ रहेको छ ।
त्यस्तै तीन जनालाई थप उपचारको लागि बाँकेका लागि रिफर गरिएको छ । ती तीन घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको अध्यक्ष पुनले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष पुनका अनुसार सोमबार बेलुकी साढे ४ बजेतिर कपुरकोट गाउँपालिका –६ सिनबाङको दुबेदेबाट धान र पराल बोकेर सिनवाङ तर्फ जाँदै गरेको मिनी ट्रक दुर्घटनामा परेको जानकारी दिए ।
रा १ ख २४०२ नम्बरको धान र पराल बोकेको ट्रक पौने ६ बजेतिर झन्डै एक सय ५० मिटर तल खसेको प्रहरीले बताएको छ ।
साँघुरो बाटोमा धान र पराल बोकेको बाटो भिरवाट खसेको अध्यक्ष पुनले जानकारी दिएका छन् ।
सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी केशर न्यौंपानेले भने एक जना सृजना बस्नेतको मात्रै मृत्यु भएको कुरा स्वास्थ्य चौकीले पुष्टि गरेको बताए । अचेत अवस्थाका अन्य दुई जनालाई जिल्ला अस्पताल सल्यान तर्फ ल्याउँदै गरिएको उनले बताए ।