दाङ, कात्तिक १२ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गत बर्षको दायित्व भुक्तानी सुरु भएको बताएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरु संग सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा बहुबर्षिय र क्रमागत आयोजनाको भुक्तानी सुरु गरिएको जानकारी दिएका हुन ।
निर्माण ब्यबसायी संग उनले यसअघि संघीय सरकारले वित्तीय समानिकरण अनुदान नपठाउदा प्रदेशमा दायित्व थपिएको, निर्माण व्यवसायीले पनि समयमा काम सम्पन्न नगर्दा जटिलता उत्पन्न भएको बताएका थिए ।
निर्माण व्यवसायीले इमानदारी भएर काम सम्पन्न गर्नुपर्ने, समयमा काम सम्पन्न नगर्ने व्यवसायीलाई कानुन अनुसार दण्डित गरिने पनि उनले चेतावनी दिएका थिए ।
संघीय सरकारले गत बर्ष दुई अर्ब दश करोड समानिकरण अनुदान नपठाउदा समस्या परेको उनले बताएका थिए ।
काम सम्पन्न गरे भुक्तानी लिन असार २५ गते कुर्न नै नपर्ने उनले बताएका थिए ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले निर्माण व्यवासायीले भोगेका समस्याहरु बारे अवगत गराउँदै रोकिएको भुक्तानी छिटो दिन आग्रह गरेका थिए ।
नेपाल निर्माण व्यवसायी महासंघ केन्द्र, प्रदेश र जिल्ला तहका नेतृत्व संग मुख्यमन्त्री आचार्य, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, प्रमुख सचिव महादेव पन्थ, सचिव इश्वरराज पौडेल, कृष्ण पौडेलसंग त्यसबारेमा छलफल भएको थियो ।
प्रयोगशाला स्थापना
लुम्बिनी प्रदेशमा निर्माण सामाग्रीको गुणस्तरीय परिक्षणका लागि प्रयोगशाला स्थापना गरिएको छ । प्रदेश सरकार र निर्माण व्यवसायसीको संयुक्त लगानीमा प्रयोगशाला स्थापना गरिएको छ ।
यो प्रयोगशाला सरकारी र निजी क्षेत्रको साझेदारीमा सञ्चालनको योजना बनाइएको छ । निर्माणको कामलाई गुणस्तरिय बनाउन प्रदेश स्तरीय प्रयोगशाला भालुबाङमा स्थापना गरिएको छ । जसमा प्रदेश सरकारको एक करोड र निर्माण व्यवसायी महासंघको ९० लाख लगानी छ ।