२०८३ असोज २९ गते बिहिवार

दंगिशरणमा पनि सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम


दिप्तीशीखा चौधरी,
दंगिशरण, असार १ । दंगिशरण गाउँपालिकाले आइतबार प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले ७ वटै वडाबाट सिफारिस भई आएका आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्राप्त अनुदान खर्च गर्नेगरी आयोजना छनौट गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले एक सय ९१ जनालाई रोजगारी दिन लागेको गाउँपालिकाका रोजगार संयोजक सञ्तोष गिरीले जानकारी दिए ।

श्रमिकलाई सुरक्षाको लागि हेल्मेट, पञ्जा, मास्क, टिसर्ट लगायतका पोशाकहरु हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष भागिराम चौधरीले रोजगार कार्यक्रमले अब हरेक जनताको घरमा रोजगारको अवसर सृजना गर्ने बताए । बेरोजगार फाराम भरेका हरेक नागरिकलाई अबका दिनमा प्राथमिकताका आधारमा अवर दिइने उनले बताए ।

काममा नआउने श्रमिकहरुलाई बेरोजगारको सूचिबाट हटाउने पनि उनले जानकारी दिए । अध्यक्ष चौधरीले मिहिनेतका साथ काममा लाग्न काममा खटिएका श्रमिकहरुलाई आग्रह गरे । गाउँपालिका उपाध्यक्ष पिमाकुमारी खड्काले प्रधानमन्त्री रोजगार कार्यक्रममा महिलाको सहभागिता उल्लेख्य भएको भन्दै महिलाले कमाएको रकम परिवारकै हितमा खर्च हुने तर्क गरिन । महिलाहरु व्यावहारिक एवं काममा प्रतिबद्ध हुने भन्दै उपाध्यक्ष खड्काले प्रधानमन्त्री रोजगार कार्यक्रमले जनताको गरिबी कम गर्न मद्दत पुग्ने धारणा राखिन । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले कार्यक्रमको उद्देश्यवारे जानकारी दिएका थिए ।

रोजगार संयोजक सन्तोष गिरीले गाउँपालिकाका ७ वटा वडाबाट तीन हजार आठ सय ६२ जनाले बेरोजगारको फाराम भरेको जानकारी दिए । गाउँपालिकाले सडक, सार्वजनिक भवन निर्माण तथा मर्मत, योग साधना भवन निर्माण, पार्क निर्माण लगायतका योजना छनौट गरेको उनले बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना संचालनका लागि यस आर्थिक वर्षमा गाउँपालिकामा १८ लाख रुपैंया छुट्याइएको छ ।

 

प्रकाशित मिति : २०७६ असार १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *