तुलसीपुर, कात्तिक ४ । चार दिनदेखि तुलसीपुरका एक युवक कुँवा भित्र मृत अवस्थामा फेला परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका– २ कुमलगडीका २९ बर्षीय रजमान चौधरी आफ्नै घरको कुँवामा आइतबार बिहान मृत अवस्थामा फेला परेका हुन ।
उनी असोज ३० गते यता बेपत्ता थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार आइतबार बिहान पौने ७ बजेतिर कुँवावाट पानी तान्ने क्रममा मृतककी भाउजु आँसी चौधरीले कुवाँ भित्र मानिस डुवेको अवस्थामा देखेपछि घर परिवारले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी निरीक्षक थापाको कमाण्डमा बिपद ब्यबस्थापन कार्यालयसहितको टोली खटिएर शब कुँवा भित्रवाट निकालेको थियो ।
पोष्टमार्टमका लागि शब तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ । रजमानले आँफै कुवामा हाम फालेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
असोज ३० गतेदेखि बेपत्ता रजमानको खाजी घर परिवारले बाहिर बाहिर गर्दै आएका थिए । रजमान मदिराका अम्मली भएको कुरा घर परिवारले गरेको प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।