२०८३ असार २८ गते आइतवार

यातायात कार्यालयको पर्खालमा वडा कार्यालयले चलायो डोजर

तुलसीपुर ,कात्तिक १ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाइडहरस्थित यातायात ब्यबस्था कार्यालयको पर्खालमा बिहीबार बिहानै वडा कार्यालयले डोजर चलाएको छ ।

तुलसीपुर – ६ का वडाध्यक्ष दुजमान भण्डारी (बर्षात) आँफै डोजर लगेर बिहानै यातायात कार्यालयको पर्खाल भत्काउन गएका थिए । यातायात कार्यालयको बाङ्गो टिङगो भाग दुर्घटनाको जोखिम बढी भएका कारण भत्काउनु परेको वडाध्यक्ष भण्डारीले बताए ।


नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्ष भण्डारीले नमिलेको सडक भत्काएर एक मिटर पर सार्ने उदेश्य रहेको जानकारी दिए । कार्यालयको पर्खालले ब्यक्तिको जग्गा च्यापेको भन्दै तीन जना स्थानीयले वडा कार्यालयमा आइ निबेदन दिएको हुँदापनि भत्काउनु परेको वडाध्यक्ष भण्डारीले बताए ।

पर्खालले मिचेको साढे दुई मिटर जग्गा ब्यक्तिको क्षेत्रको पर्खाल बिहीबार बिहान भत्काइएको भएपनि अर्कौ तर्फ अझैं तीन मिटर ८० सेन्टिमिटर ब्यक्तिको जग्गा मिचिएको हुँदा त्यो पनि भत्काइने उनले जानकारी दिए । सबै गरि थप चार मिटर पर्खाल भत्काउने भण्डारीले बताए ।

वडाध्यक्ष भण्डारीले यातायात ब्यबस्था कार्यालयको पर्खाल भत्काउने बारे कार्यालय प्रमुख बिनोद पौडेल संग सरसल्लाह भएको जानकारी दिए । बिहान पर्खाल भत्काइ सकेपछि पनि कार्यालय प्रमुख पौडेलले आँफुलाई फोन गरेको र त्यतिखेर पौडेलले पर्खाल भत्काउँदा सुरक्षा चुनौति बढेको भन्दै भत्काएको पर्खाल तत्कालै निर्माण गरि दिन आग्रह गरेको वडाध्यक्ष भण्डारीले बताएका थिए । वडा कार्यालय आफ्नै खर्चमा भत्काएको यातायात ब्यबस्था कार्यालयको पर्खाल निर्माण गरिदिने भण्डारीले जानकारी दिए ।


आँफु औषधि उपचारका लागि बाँकेको नेपालगञ्ज रहेको जानकारी दिएका यातायाकका कार्यालय प्रमुख पौडेलले भने वडाध्यक्ष संग यसअघि सामान्ने कुराहरु भएपनि पर्खाल भत्काउने बारे कुरा नभएको स्पष्ट पार्न चाहेका थिए ।

आँफु नेपालगञ्जमा रहेको हुँदा बिहीबार बिहान कार्यालयका अन्य सहकर्मीले फोन गरेपछि मात्रै पर्खाल धप्काइएको बारे जानकारी पाएको र त्यसपछि लगतै वडाध्यक्षलाई फोन गरि भत्काएको सम्पूर्ण जिम्मेवारी आँफैले लिन र तत्काल पर्खाल निर्माण गरिदिन आग्रह गरेको कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।

वडाध्यक्षले फोनमा कुनो मात्रै भत्काएको तथा कुनो मात्रै मिलाएको कुरा गरेको उनले बताए । आँफु कार्यालय फर्केपछि मात्रै के कति भत्काइएको रहेछ भन्ने कुरा भन्न सक्ने उनले जानकारी दिए ।

यसअघि वडाध्यक्ष भण्डारी संग आफ्नो कुरा भएको भएपनि नापी कार्यालयवाट अमिन ल्याइ जग्गा छुट्याएर मात्रै अघि बढ्ने सल्ला भएपनि वडाध्यक्ष भण्डारीले एकाएक पर्खाल भत्काउनुलाई सही मान्न नसकिने उनले तर्क गरे ।

तुलसीपुर – ६ स्थित साबिक सीप बिकास कार्यालयको भवनमा हाल यातायात ब्यबस्था कार्यालय बस्दै आएको छ । स्थानीयबासी समेत रहेका नेपाली काँग्रेसका नेता डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री छँदा भाडामा बस्दै आएको यातायात कार्यालय तुलसीपुर घोराही रोडवाट केही दक्षिण सीप बिकास कार्यालयमा स्थान्तरण गरिएको थियो ।

तत्कालिन मुख्यमन्त्री चौधरीले मन्त्री परिषद बैठकबाट निर्णय गराइ पहिलोको भाडाको साँघुरो ठाउँबाट फराकिलो र खुल्ला ठाउँमा यातायात ब्यबस्था कार्यालयलाई भवनसहितको जग्गा उपलब्ध गराउने निर्णय गरेका थिए ।


लुम्बिनी प्रदेश सरकारको झन्डै एक करोड बजेटबाट तुलसीपुर – ६ को गौरवको सडक आयोजना अन्तर्गत तुलसीपुरको तरकारी मण्डीदेखि गाइडहर हुँदै बनकट्टा जोड्ने (मदन आश्रित) सडक निर्माणको क्रममा छ। नक्सा अनुसार सडक ८ मिटर चौडाइको निर्माण गर्नपनि सडक भत्काउनु परेको उनले बताए ।

त्यसका लागि बिभिन्न ब्यक्तिका ८० मिटर पर्खाल भत्काउनु पर्ने अवस्था रहेको वडाध्यक्ष भण्डारीले जानकारी दिए । साउन २९ गते स्थानीय इलिजा वली डाँगी र जागेश्वर डाँगीको घरको पर्खाल बलजफती भत्काएपछि वडाध्यक्ष भण्डारीको चर्कौ बिरोध भएको थियो ।

इलिजा अदालत पुगेपछि सोही दिन उच्च अदालत तुलसीपुरले सोही दिन स्टे अर्डर जारी गरी तत्काल डाँगी दम्पतीको घरको संरचना नभत्काउन आदेश गरेको थियो। अहिले पनि त्यो मुद्दा बिचाराधिन नै छ । डाँगी परिवारको पर्खाल भत्काएपछि आँफुलाई ज्यान मार्ने धम्कि आएको भन्दै वडाध्यक्ष भण्डारीले पत्रकार सम्मेलन गरि सुरक्षासमेत माग गरेका थिए ।

तस्बिर : वसन्त गिरी ।

प्रकाशित मिति : २०८१ कार्तिक १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *