तुलसीपुर, असोज २३ । तुलसीपुरमा स्थापना गरिएका चार वटा ‘हाइमाष्ट लाइट’ बिद्युत जडान भएपछि मंगलबार रातिदेखि बल्न थालेका छन् ।
लाइट स्थापनाको झन्डै ५ महिना पछि मंगलबार मात्रै बिद्युत जडान गरिएको थियो । पहिलो पटक तुलसीपुरमा स्थापना गरिएका हाइमाष्ट लाइट स्थापनाको जस कस्ले लिने भन्ने सोचका कारण बिद्युत जडानमा बिलम्ब भएको जानकारहरु बताउँछन् ।
तुलसीपुर उद्योग बाणिज्य संघका तत्कालिन महासचिव विनिल केसीको पहलमा लुम्बिनी प्रदेश सरकारको झन्डै ५१ लाख बढी बजेटबाट तुलसीपुरको गुम्ह्राचोक, बीरेन्द्र चोक, हात्तीखौवा चोक र बिजौरी चोकमा यो बर्षको सुरुवातमै हाइमाष्ट लाइट स्थापना गरिएका थिए ।
अहिले आएर तुलसीपुर उपमहागनरपालिकाले बिद्युत जडानका लागि आवश्यक पैंशा बिद्युत कार्यालयलाई बुझाएपछि मात्रै बिद्युत जडान भएको मेयर टीकाराम खड्काले बताए ।
सोमबार नै बिजौरीस्थित हाइमाष्ट लाइटमा भने बिजुली बत्ती जडान भइ सकेको थियो । बिद्युत प्राधिकरण तुलसीपुरका प्रमुख शिवनारायण गोसलीले उपमहानगरपालिकाले हाइमाष्ट जडानका लागि आवश्यक धरौटी र मिटरको पैंशा बुझाइ सकेपछि बिद्युत जडान गरिएको बताए ।
हाइमाष्ट लाइटमा बिजुली बत्ती जडान भए पछि तुलसीपुर बजार रातिको समयमा झनै उज्यालो र सुरक्षित हुने आशा गरिएको छ ।
यसअघि प्रदेश सरकारले आँफुहरु संग समन्वय नै नगरी हाइमाष्ट लाइट स्थापना गरेको भन्दै मेयर खड्काले बिद्युत जडान गर्न आनाकानी गर्दै आएको हुँदा बिद्युत जडानमा ढिलाइ भएको हो ।
आँफुहरुले बिद्युत जडान गरेपनि जस प्रदेश सरकारले पाउने ठानेर उपमहागनरपालिकाले बिद्युत जडानमा चासो देखाएको थिएन ।
तुलसीपुर बजारलाई रातिको समयमा थप उज्यालो र सुरक्षित पार्ने सवालमा मेयर खड्काले केही ढिला गरेपनि अहिले आएर काम गरेकोमा तुलसीपुुरका उद्योगी ब्यापारी खुसी भएका छन् ।
बिद्युत कार्यालयलाई अझैंपनि उपमहानगरपालिकाले सडक बत्ती बाफतको झन्डै डेढ करोड रकम तिर्न बाँकी रहेको स्रोत बताउँछ ।
