तुलसीपुर , असोज ८ । दाङको तुलसीपुर उपमहानगरपालिका – ६ रजौरास्थित कमलपोखरीमा पानी नअडिएपछि यतिखेर फेरि चौथो पटक मर्मत तथा सुधारको काम भइ रहेको छ ।
कमलपोखरीको परिधिभित्र वरिपरी एक मिटर दुई सेन्टिमिटर गहिरो खाडल खनेर सोलिङ गरि सिमेन्टले डिपिसीको काम गर्ने गरि काम भइ रहेको छ ।
तत्कालिन वडाध्यक्ष नवराज लामिछानेको पालादेखि प्राकृतिक अवस्थाको ताललाई क्रंकिट बनाउने अभियान सुरु भएको थियो ।
६ बर्ष अघि सुरु भएको ताल निर्माणको काम २०८० को बर्षा अगाडि नै पुरा भएको थियो । तर, त्यो बर्षपनि बर्षाको समयमा समय तालमा एक थोपा पानी अडिएको थिएन ।
त्यसपछि पोखरीमा पानी अड्याउन भनेर गत असार ३ गतेसम्म कमलपोखरी सुधार कार्य अन्तर्गत कुल लागत (भ्याट बाहेक) ५९ लाख ७८ हजार ५९२ रूपैयाँ खर्च गरिएको थियो।
पोखरीभित्रको सतह रातो माटोले १८ इञ्च अर्थात ४५० एमएम फिलिङ गरिएको थियो। पोखरीको सतह भित्र १ हजार २६० घनमिटर माटो फिलिङ गर्दा प्रत्येक तहमा ५ प्रतिशतका दरले तीन तहमा माटोसहित मिलाएर ‘बेन्टो नाइट पाउडर’ फिलिङ गरिएको प्राबिधिकहरुले जानकारी दिएका थिए ।
त्यो रातो माटो सहितको ‘बेन्टो नाइट पाउडर’को तालको भित्री सतहमा कम्प्रेसरले पेलेर फिलिङको काम गरिएको थियो।
तर, त्यतिगर्दापनि तालमा पानी अडिएन । यो भन्दा पहिला पोखरी प्रबेश गर्ने सिँढी नजिकै, बीचमा निर्मित क्रँकिट कमलको फूलको आकृति र उत्तरतर्फको वाल निजकैबाट प्वाल परी पानी बगेर गएको थियो।
ती सबै दुलोहरूमा वरिपरि खनेर सिमेन्टले टालिएको थियो । त्यतिगर्दा बल्ल पोखरी निर्माण सुरु भएको ६ वर्ष पछी पहिलो पटक केही समय वर्षायाममा पानी भरिएको थियो ।
जतिखेर ताल निकै आकर्षक देखिन थालेको थियो । पानी भरिदा मानिसहरुको चहल पहल बाक्लिएको थियो ।
तर, फेरि दक्षिण तर्फको वाल नजिकै दुलो परेपछि पानी त्यसैबाट बगेर गएको हो। त्यही भएर अहिले पुरै तालको परिधि भित्र वरिपरी एक मिटर भन्दा गहिलो खाडल खनेर ढुँगा बिच्छ्याई डिपीसी गर्न थालिएको हो ।
यो समेत युएसएआइडीको तयार नेपालले कमलपोखरी सुधार तथा मर्मतको काम गर्न थालेको चौथो पटक हो ।
कमलपोखरीलाई डिपिआर तयार पारी आधुनिक पर्यटकीयस्थल बनाउने कार्यको थालनी तुलसीपुर उपमहानगरपालिका– ६ का पूर्व वडाध्यक्ष नवराज लामिछानेको पालामा सुरू भएको थियो।
जस्को उदेश्य तालको सौन्दर्यकरण गर्ने र आवश्यक परे विपदमा समेत पानीको प्रयोग गर्ने गरी पोखरी निर्माण गरिएको थियो।
कमलपोखरीमा हालसम्म विभिन्न निकायले २ करोडभन्दा बढी खर्चे भइ सकेको छ ।
पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाले पनि पोखरीको गेट तथा पर्खाल निर्माणका लागि साढे ६ लाख खर्चिएको थियो।
पोखरी निर्माणमा यसअघि तुलसीपुर उपमहानगरपालिकाले २५ लाख रूपैयाँ, लुम्बिनी सरकारअन्तर्गत कोहलपुर पर्यटन डिभिजन कार्यालयको ४६ लाख ५४ हजार ३५२ रूपैयाँ र युएसएआइडीको तयार नेपालको (भ्याटसहित) ८० लाख ५ हजार ६०१ रूपैयाँ त्यसभन्दा पहिले नै लगानी भइसकेको थियो।
पछिल्लो समय तयार नेपालले फेरि मर्मत तथा सुधारका लागि (भ्याट बाहेक) ५९ लाख ७८ हजार ५९२ रूपैयाँ खर्च गरेको हुँदा पोखरीमा दुई करोड बढी खर्च भइ सकेको छ । तर, पनि पोखरीमा हाल एक थोपापनि पानी छैन ।