
दाङ, जेठ ३२ ।
दाङ लमहीस्थित निर्माणाधिन सम्राट सिमेन्ट उद्योगको विम भत्किदा तीनजना मजदुरको मृत्यु भएको छ भने थप तीनजना घाइते भएका छन् । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ भने एकजना भने डिस्चार्ज भइसकेका छन् ।
सिमेन्ट उद्योग निर्माणको क्रममा विम भत्किदा त्यसमा परेर भारतको झारखण्ड प्रदेशको राँची जिल्लाको पगलपुर निवासी ४५ वर्षीय मंगल केस्यव, २२ वर्षीय दयाल हरेन्द्र ४६ वर्षीय लाल साहेवको मृत्यु भएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
उक्त दुर्घटनामा परि २३ बर्षीय अजय हेरेन्द्र, ४६ बर्षीय नरेन्द्र साईवेन र २२ बर्षीय दिपेन गोडा घाइते भएका छन् । घाइते मध्य हेरेन्द्र र साईवेनको अवस्था गम्भीर छ ।
उनीहरुलाई लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि बुटवल रेफर गरिएको एसपी पाण्डेले बताए । तर अर्का घाइते गोडा भने लमहीको उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
दुर्घटना शनिवार विहान साढे एक बजेतिर भएको थियो । घाइते मध्य तीन जनाको उपचारको क्रममा लमहीमा साढे ४ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सिमेन्ट उद्योग निर्माणको गर्न ठड्याइएको सपोटको लागि बाँधिएको फलाम बाँगिएर वा चिफ्लिएर भत्किदा उक्त घटना भएको प्रहरीले बताएको छ ।
नयाँ प्लान निर्माणको क्रममा पाँऔ तलाको विमको सेटिङको बार भत्किदा घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक अरुणकुमार सिंहले बताए । घटनावारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।