२०८१ असोज २५ गते शुक्रवार

तुलसीपुरको मावि सेन्टर देशभरकै उत्कृष्ट

शान्तिनगरको जनकल्याणलाई तृतीय पुरस्कार
दाङ, असोज २ ।
दाङ तुलसीपुरको माध्यमिक विद्यालय तुलसीपुर सेन्टर कक्षा १२ को परीक्षाफलका आधारमा सामुदायिक विद्यालयतर्फ देशकै प्रथम भएको छ । त्यस्तै दाङको शान्तिनगर गाउँपालिका–२ स्थित जनकल्याण मावि देशभरमा तृतीय भएको छ । काठमाडौं कीर्तिपुरस्थित विश्व निकेतन मावि द्वितीय भएको छ ।

मुलुकमै कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल तीन विद्यालयका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिलाई प्रधानमन्त्री केपी शर्मा ओली तथा शिक्षामन्त्री विद्या भट्टराईले बुधबार काठमाडौंको भद्रकालीमा आयोजित एक विषेश समारोहका बीच नगदसहित राष्ट्रिय शिल्ड, प्रमाणपत्रले सम्मान गरेका छन् ।

जनकल्याण माविका तर्फवाट शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले त्यो पुरस्कार थापेका हुन् । तृतीय भएको जनकल्याण माविले नगद एक लाख पुरस्कार पाउदा, प्रथम भएको सेन्टर माविले तीन लाख र द्वितीय भएको विश्व निकेतन माविले दुई लाख पुरस्कार प्राप्त गरेको शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले फरक कोणलाई बताए ।

शिक्षा क्षेत्रमा शान्तिनगरको जनकल्याण माविले प्राप्त गरेको नतिजाले आफू धेरै खुसी भएको भन्दै गाउँपालिकाका अध्यक्ष बस्नेतले शिक्षा क्षेत्रको उन्नयनका लागि पालिकाले थप ध्यान दिने बताए । सेन्टरका माविका प्रधानाध्यापक भागवत पौडेलले मुलकभरका सामुदायिक विद्यालयमध्ये कक्षा १२ को परीक्षाफलका आधारमा आफ्नो विद्यालय प्रथम हुनुमा सबै शिक्षक तथा विद्यार्थीको मिहिनेत भएको भन्दै खुसी साटेका थिए ।

प्रकाशित मिति : २०८१ असोज २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *