घोराही, भदौ २६ । दाङको घोराहीमा गुठी पीडित मोही किसान बुधबार पर्दशन गरेका छन् ।
उनीहरुले निकालेको बिरोध ¥यालीले घोराही बजार परिकर्मा गर्नुका साथै जिल्ला प्रशासन कार्यालय अगाडि गइ धर्नासमेत दिएका थिए ।
स्वर्गद्वारी गुठीका मोही किसानले विगतमा सरकारसंग भएको सहमति कार्यान्वयनको माग गर्दै प्रदर्शन गरेका हुन । उनीहरुले स्वर्र्गद्वारी आश्रममा भएको द्वैध स्वामित्व अन्त्य गरि किसानलाई जग्गा दिनुपर्ने माग गर्दै आएका छन् ।
त्यसबारे सरकारसँग विगतमा भएको सहमति कार्यान्वयन हुनुपर्ने उनीहरुको माग छ । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पनि बुझाएका थिए ।
२०६२ चैत १४ गते सर्वौच्च अदालतले स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएको ठहर गर्दै आश्रमको स्वायत्ततामा आँच पुग्ने गरी आश्रमको नाममा दर्ता भएको जग्गा कुनै पनि किसिमले खण्डित र हिनामिना हुन नदिनु भन्ने परमादेश जारी गरेको थियो ।
तत्कालिन समय न्यायाधीश रामप्रसाद श्रेष्ठ र दामोदरप्रसाद शर्माको इजलासले स्वर्गद्वारी आश्रमका महाप्रभु हंशानन्द गिरीको झोलीको पैसाबाट खरिद गरिएको जग्गामा यज्ञको होमादी कार्य खण्डित हुन नदिन कुनै हस्तक्षेप नगर्नू र नगराउनु भन्ने आदेश गरेको थियो ।
तर, सर्बौच्चको त्यो फैसला प्रति मोही किसान सन्तुष्ट छैनन् । गुठी पीडित मोही किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले सर्बौच्चको उक्त फैसलाका कारण मोही किसान जग्गा पाउने अधिकारबाट बञ्चित भएको दाबी गर्छन ।
बिगतमा आँफैले गरेका सम्झौता सरकारले कार्यान्वयन नगरेपछि फेरि बाध्य भइ आन्दोलन सुरु गर्नु परेको उनले बताए ।
स्वर्र्गद्वारी आश्रमको १०३४ बिघा १७ कट्ठा ७ धुर जग्गामध्य ७ ५३ बिगाह जग्गामा मोही कायम छ । सुरुमा २८९ घरपरिवार मोही किसान रहेकोमा अहिले नयाँ घर बढ्दै जाँदा ३५०० घरधुरी पुगेका छन ।