तुलसीपुर, भदौ २५ । तुलसीपुर उपमहानगरपालिका – १३ डाँडागाउँकी १५ वर्षीया रोशनी महतरा र दंगीशरण गाउँपालिका वडा नम्बर ६ थपगाउँ घर भई तुलसीपुर १३ दमारगाउँस्थित मामाघर बस्दै आएका १४ वर्षीय शरद आचार्यको मृत्यु प्रकरणमा उच्च अदालतले मंगलबार क्षतिपुर्तीको रकम बढाउने फैसला सुनाएको छ ।
२०७९ असोज २७ गते राति एकअर्कालाई भेट्न निस्केका रोशनी र शरदले जंगली बँदेल मार्न भनेर थापेको विद्युतीय धरापमा परी एकै साथ ज्यान गुमाएका थिए ।
झन्डै तीन बर्ष पहिलेको त्यो चर्चित घटनामा संलग्न रहेका भनिएका चार जना बिरुद्ध उच्च अदालत तुलसीपुरले मंगलबार पीडित परिवारका लागि क्षतिपुर्ती बढाउने गरि फैसला सुनाएको हो ।
२०८० ÷०५÷ २६ गते जिल्ला अदालतले चार जनालाई जनही पाँच बर्ष काराबास सजाय र ५० हजार जरिवानाको फैसला सुनाएको थियो ।
त्यो फैसला चित्त नबुझाइ पीडित परिवार २०८०÷ १२ ÷ १८ गते उच्च अदालत तुलसीपुरमा जिल्लाको फैसला पुनरावलोकनको मागसहित पुगेका थिए । सोही मुद्दामा मंगलबार उच्च अदालतले जिल्लाले तोकेको जनही पाँच बर्ष काराबासको सजाय सदर गर्दै जरिवाना रकम भने प्रति ब्यक्ति तीन लाख भराउन फैसला गरेको उच्च अदालतका नायव सुब्बा हरिबहादुर राम्जाले जानकारी दिए ।
राम्जाका अनुसार अदालतले मृतक दुई किशोर किशोरीका परिवारलाई क्षतिपुर्ती बाफत चार जना हरेकले एक परिवारका सदस्यलाई जनही डेढ लाख बुझाउनु पर्ने फैसला गरेको बताए ।
उच्च अदालतको पछिल्लो फैसला संगै अब मृतकका परिवारले क्षतिपुर्ती बाफत जनही ६ ÷ ६ लाख पाउने भएका छन् ।
रोशनी र शरदको मृत्यु घटनामा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १३ दमारगाउँका ३९ वर्षीय गणेश भनिने हरिशचन्द्र पौडेल, २८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिमबहादुर बुढा र ४७ वर्षीय प्रकाश भनिने अम्मरराज कार्कीलाई जिल्ला अदालतले जनही पाँच बर्ष काराबास सजाय र ५० हजार जरिवानाको फैसला सुनाएको थियो ।
सुरुमा जिल्ला अदालतले विद्युतीय धराप थाप्न सिकाउने स्थानीय हरिबहादुर आचार्यसहित पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । अदालतले आचार्यलाई तत्कालिन समय मतियारका रूपमा पूर्पक्षमा पठाएको थियो । केही समय पछि आचार्य भने धरौटीमा छोड्न अदालतले आदेश दिएको थियो । पछि उनी धरौटी बुझाएर छुटेका थिए ।
मंगलबार उच्च अदालतले आचार्यलाई भने सफाइ दिएको छ ।
गत असोज २७ गते राति राति विद्युतको धरापमा परेर रोशनी र शरदले एकै साथ ज्यान गुमाए पछि चार जना मिलेर उनीहरुको शब चिरोमा लगि ब्यबस्थापन गरेका थिए ।
रोशनी र शरदको शव तुलसीपुर– १३ स्थित जनकल्याण सामुदायिक वनमा एकै ठाउँमा पुरेको अवस्थामा असोज ३० गते दिउँसो फेला परेको थियो।