दाङ, भदौ २२। गैँडाको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन ।
ठाकुरबाबा नगरपालिका – ९ का ३५ वर्षीय गाइड मनमोहन चौधरीको गंैडाको आक्रमणमा परि घटनास्थलमै मृत्यु भएको हो ।
जंगलमा शुक्रबार बिहान मोनिङ वाकमा गएका तीन जनालाई गैँडाले एक्कासी आक्रमण गर्दा चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रहरी प्रबक्ता डिएसपी तुलसीराम अर्यालले फरककोणलाई बताए ।
गंैडाको आक्रमणमा परि मधुवन नगरपालिका – १ का ५८ वर्षीय खिन्चु थारू र अमेरिकी नागरिक मिक लेन्डन शवन घाइते भएका छन् । उनीहरूको भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको छ ।
अमेरिकी नागरिक मिक लेन्डन शवन बिहीबार राति ठाकुरबाबा नगरपालिका –९ शिवपुरस्थित बर्दिया होमस्टेमा आएर बसेका थिए।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाका मधुवन नगरपालिका वडा नम्बर– ६ स्थित डल्ला सामुदायिक वनमा गैँडाले उनीहरुमाथि आक्रमण गरेको थियो । घाइते चौधरी सोही सामुदायिक वनमा चौकीदार भएको प्रहरीले जानकारी दिएको छ । मृतक चौधरी भने नेचर गाइड हुन ।