भदौ, १९ दाङ ।
लुम्बिनी प्रदेश सरकाले अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक बिदा दिने भएको छ । थारु समुदायको बसोजास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ ।
थारू समुदायमा महत्वका साथ मनाइने अट्वारी पर्व यस वर्ष भदौ २३ गते आइतबार परेको छ । यो पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘ब्रत’ बस्ने चलन छ । यो पर्वमा निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक मान्यता छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् ।
पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । कुशे औंसी पछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ । आइतबार मनाइने हुँदा यो पर्वको नाम अट्वारी राखिएको मान्यता छ ।
आइतबारलाई ‘रबिबार’ पनि भनिन्छ । रबि अर्थात् सूर्य । सूर्य अग्निको प्रतीक पनि हो । प्रंकृति पूजक थारू समुदायले विशेषगरी सूर्यको उपासना, पूजाआजा गरी बर्का अट्वारी पर्व धुमधामका साथ मनाउने प्रचलन रहिआएको छ ।