तुलसीपुर, भदौ १४ । बेपत्ताको अवस्था सार्वजनिक नहुँदा बेपत्ता परिवारहरू थप पिडामा परिरहेको एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन् ।
अन्तराष्ट्रिय बेपत्ता दिवसका अबसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङले आयोजना गरेको ” जान्न पाउने अधिकार “कार्यक्रममा बोल्ने बेपत्ता परिवारका आफन्तहरूले यस्तो गुनासो गरेका हुन् ।
राज्यले पीडितलाई कुनै पनि क्षतिपूर्ति नदिँदा झनै पीडामा परेको उनीहरू बताउँछन ।
कार्यक्रममा तुलसीपुर –१५ कि सोमली चौधरीले श्रीमान बेपत्ता भएको २३ वर्ष बित्दा समेत कुनै जानकारी नपाउँदा अब साससहित पाउने आस टुटेको बताइन् ।
त्यस्तै तुलसीपुर–१ का खिमबहादुर भण्डारीले पनि छोरा तुलसीपुर पढन आएको तर यहि बाट बेपत्ता पारिएको भन्दै आउने नआउने अझैपनि थाहा हुन नसकेको गुनासो गरे ।
‘हाम्रो जान्न पाउने अधिकार कहाँ छ त्यो हामीलाई राज्यले दिनु पर्छ उनीहरुले भने ।’
नेपाल रेडक्रस सोसाइटी दाङका सभापति मदन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले बेपत्ता पारिएका परिवारहरुको जान्न पाउने अधिकार रहेको बताए ।
उनले सरकारले बेपत्ता पारिएका परिवारका सदस्यहरुलाई अध्ययनका लागि स्थानीय निकायले छात्रवृत्तिको व्यवस्था गरिएको बताए ।
उनले सरकारले बेपत्ता पारिएका व्यक्तिहरुको छानविन लागि आयोग नै गठन गरेकाले आयोगले तत्कालै काम सुरु गरे स्थानीय सरकारकाबाट सहयोग रहने बताए ।
त्यस पश्चात् बेपत्ता परिवारका सदस्यहरुको स्वास्थ्य बिमाको व्यवस्था गर्न सकिने समेत बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्विनी प्रदेशका सदस्य नारायण आचार्यले बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्नका लागि आफुहरुले विभिन्न समयमा माग गर्दै रेडक्रसले सहयोग गर्दै आएको बताए ।
नेपाल रेडक्रस सोसाइटि दाङका उपाध्यक्ष हरिहर पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको दिवसको सहजिकरणा रेडक्रसका मन्त्री विमल केसीले गरेका थिए ।
एक तथ्यांकअनुसार हाल नेपालभरमा १३२३ ब्यक्ती अझै बेपत्ता छन भने दाङमा पनि ८१ जना ब्यक्ती बेपत्ता रहेको तथ्यांक छ ।