तुलसीपुर, भदौ १४ । तुलसीपुर उपमहानगरका मेयर टीकाराम खड्काले शिक्षकलाई जिम्मेवारी पूर्वक आफ्नो दायित्व पूरा गर्न आग्रह गरेका छन् ।
शिक्षण सहायता प्रणाली अन्तर्गत शिक्षा शाखाले शिक्षकको पेशागत विकासका लागि गरेको अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खड्काले शिक्षक इमान्दारिताका साथ पठन पाठनमा लाग्नु पर्ने बताएका हुन ।
सामूदायिक शिक्षकले आफ्नो जिम्मेवारी इमान्दारपूर्वक पूरा नगरेका कारण विद्यार्थी संख्या घटेको उनले बताए ।
मेयर खड्काले जागिरे मानसिकताबाट माथि उठेर पठन पाठनमा लाग्न आग्रह गरे ।
सामूदायिक विद्यालयमा राम्रो पढाई नहुँदा अभिभावकले महंगो शुल्क तिरेर छोरा छोरीलाई संस्थागत विद्यालयमा पढाउन बाध्य भएको भन्दै उनले त्यस्ता कमजोरी आगामी दिनमा नदोहो¥याउन आग्रह गरेका थिए ।
‘तपाईहरुले मेहनतका साथ नपढाउँदा अभिभावक महंगो शुल्क तिरेर निजी विद्यालयमा छोराछोरी पढाउन बाध्य छन,’ मेयर खड्काले भने,‘सरकारी शिक्षकका लागि यो भन्दा लाजमर्दौ कुरा के हुन्छ ।’
त्यस्तै परीक्षाफल राम्रो दिन नसक्ने शिक्षकलाई कुनै न कुनै प्रकारको नैसियत दिइने चेतावनी दिए । शिक्षा आयोग पास गर्न नसकेका शिक्षकले निजी विद्यालयमा पढाउँदा रिजल्ट राम्रो आउने तर आयोग पास गरेका शिक्षकले पढाउँदा रिजल्ट राम्रो नहुनु आँफैमा मजाग मान्नु पर्ने मेयर खडकाले बताए ।
त्यस्तै मेयर खड्काले पठन पाठनमा लापरवाही गर्ने शिक्षक देश निर्माणका बाधक मानिने बताए ।
सरकारी विद्यालयका शिक्षकले छोराछोरीलाई निजी विद्यालयमा पढाउने गरेको पाइएको भन्दै उनले आगामी शैक्षिक सत्रदेखि तुलसीपुर उपमहानगरका कुनै पनि सामूदायिक विद्यालयका शिक्षकले छोराछोरी निजी विद्यालयमा पढाउन नपाइने जोड दिए ।
‘तपाईले सरकारी स्कुलमा पढाउने अनि छोराछोरी निजी विद्यालयमा पढाउनुहुन्छ भने त्यो तपाईको आफैँ प्रतिको अविश्वास हो,’ उनले भने –‘मावि सेन्टरबाट यसको सुरुवात गरिसका छौँ आगामी बर्षदेखि यहाँका सबै शिक्षकले छोराछोरी अनिवार्य रुपमा सरकारी विद्यालयमै पढाउनुपर्छ ।’
तुलसीपुर उपमहानगरपालिकाले आफ्नो क्षेत्र भित्रका विद्यालयलाई तीन श्रेणीमा बिभाजन गरी शिक्षकको पेशागत विकासका लागि शैक्षिक सहायता कार्यक्रम संचालन गर्दै आएको छ ।