दाङ, भदौ १३ । लुम्बिनी प्रदेशमा यातायात क्षेत्रको सुधारका लागि प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले १० सदस्यीय कार्यदल गठन गरेको छ।
मन्त्री प्रचण्ड विक्रम न्यौपानेले यातायात क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्दै यसको व्यवस्थापनलाई प्रभावकारी बनाउन कार्यदल गठन गरिएको जानकारी दिए।
गुनासाहरूको आधारमा मन्त्रालयले यातायात व्यवस्थापनलाई सुधार गर्न कदम चालेको हो। ‘लुम्बिनी प्रदेशको समग्र यातायात प्रशासन सुधार सुझाव कार्यदल’ नाम दिइएको यो समूहले यातायात क्षेत्रलाई व्यवस्थित र नागरिक मैत्री बनाउने योजना तयार गर्नेछ।
कार्यदलको संयोजकत्व उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका महाशाखा प्रमुख रमेश गौतमले गर्नेछन्। कार्यदलमा विभिन्न मन्त्रालय र सरकारी निकायका प्रतिनिधिहरू सामेल छन्।
मन्त्री न्यौपानेका अनुसार, कार्यदलले यातायात सेवा प्रवाहमा देखिएका नीतिगत र कानुनी जटिलता तथा सेवाग्राहीहरूको जनगुनासाहरूको अध्ययन गर्नेछ। यसै आधारमा, यातायात क्षेत्रको सुदृढिकरण र व्यवस्थापनका लागि आवश्यक कार्ययोजना तयार पारिनेछ।
समस्या समाधानको लागि, सेवाग्राहीहरूले झेलिरहेका समस्या पहिचान गर्न र यातायात कार्यालयहरूलाई नागरिक मैत्री बनाउन टोकन प्रणाली लागू गर्ने निर्देशन पनि दिइएको छ।
कार्यदलले आफ्नो अध्ययन प्रतिवेदन प्रस्तुत गरेपछि त्यसका आधारमा मन्त्रालयले आगामी कार्ययोजना तथा मार्गदर्शन निर्माण गर्नेछ।