काठमाडौँ, भदौ ८ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष दाङ तुलसीपुरको टरिगाउँ एयरपोर्ट स्तरोन्नतिका लागि ध्यानाकर्षण गरिएको छ ।
दाङका राजनीतिक दलका नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका प्रतिनिधिले शनिबार भेटेर प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन ।
दाङको टरिगाउँ एयरपोर्ट बिस्ताका साथै तुलसीपुर– घोराही चार लेन सडक बिस्तार, तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा भइ रहेको उपकरण अभावको आपुर्ती, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीको थप बिकास तथा जिल्लाको समग्र आर्थिक र भौतिक विकासबारे दाङको प्रतिनिधि मण्डलले ध्यानाकर्षण गराएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद दिपक गिरी र एमाले नेतृ तथा संघीय समानुपातिक सांसद मेनका पोखरेल, तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, पूर्व मेयर घनश्याम पाण्डे,दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, शान्तिनगरका अध्यक्ष प्रमोद बस्नेत, बबईका अध्यक्ष कुलप्रशाद केसी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी लगाएको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
दश बुँदे ध्यानाकर्षण पत्र दाङ क्षेत्र नं. ३ बाट निर्वाचित सांसद दीपक गिरीले पढेर सुनाएका थिए । मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले विमानस्थल स्तरोन्नतिका साथै लमही–घोराही–तुल्सीपुर सडक विस्तारको काममा सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।