दाङ, भदौ ७ ।
खुकुरी प्रहारको घटनामा संलग्नहरुलाई कारबाहीको माग गर्दै नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल बाँकेले शुक्रबार प्रदर्शन गरेको छ । प्रर्दशन पछि घटनामा संलग्न सबै दोषीलाई कारबाहीको माग गर्दै नेपाल तरुण दलले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र पठाएको हो ।
तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्रबहादुर शाहको नेतृत्वमा पुगेको तरुण नेताहरु सम्मिलित टोलीले सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाउन नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाह, तरुण दल क्षेत्र नम्बर २ का अध्यक्ष धनराज बर्मा, तरुण दल नेपालगंज उपमहानगरका अध्यक्ष सन्दिपजंग शाह, परिवारका तर्फबाट सन्दिपकी आमा, श्रीमती र सुलभकी श्रीमति पुगेका थिए ।
ज्ञापत्रपत्र बुझाउनु अघि नेपाली कांग्रेस बाँकेको कार्यालय अगाडिबाट तरुण दलले प्रदर्शन सुरु गरेको थियो । जिल्लाको राप्ती सोनारी गाउँपालिका–५ बिनौना चोकमा गत शनिबार बेलुकी करिब साढे ७ बजेतिर राप्ती सोनारी–२ का २८ वर्षिय सन्दिप विष्ट र बैजनाथ–७ पर्शुरामपुरका २८ वर्षकै सुलभ मल्लमाथि एक समूहले सांघातिक हमला गरेको थियो ।
खुँडा, खुकुरी लगायत धारिलो हतियार प्रहारबाट गम्भीर घाइते बिष्ट र मल्लको भारतको लखनऊमा उपचार जारी छ । घटना भएकै राति प्रहरीले वडाध्यक्षसहित चारजनालाई पक्राउ गरेको थियो । तर, घटनामा संलग्न मध्य किटानी जाहेरीसहित कर्तव्य ज्यान मुद्दा परेका अन्य पाँचजनालाई हप्ता दिनसम्म पनि पक्राउ परेका छैनन् ।
घटनामा संलग्न ब्यक्तिहरुलाई कुनैपनि बहानामा उन्मुक्ति दिन नहुने तरुण दलले माग गरेको छ । ज्ञापनपत्रमा दोषीलाई बचाउने वा उम्काउने, मुद्दा फितलो बनाउने षड्यन्त्र भएमा तरुण दल प्रतिकारमा उत्रने चेतावनी दिइएको छ ।
बाँकेका दुई युवामाथि खुकुरी प्रहार भएको घटनामा नौजना आरोपीविरूद्ध ज्यान मार्ने उद्योगमा गत आइतबार नै मुद्दा दर्ता भइ सकेको छ । घाइते सन्दिप विष्टकी २८ वर्षिया श्रीमती चेतना पुरी विष्टले ज्यान मार्ने उद्योगअन्तर्गत आइतबार नौजना विरूद्ध प्रहरीमा जाहेरी दिएकी छन् ।
बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले चेतनाले राप्ती सोनारी गाउँपालिका–२ का वडा अध्यक्ष ३८ वर्षिय ज्ञानु भनिने ज्ञानेन्द्रराज ओली, ३१ वर्षिय नारायण डाँगी, ३२ वर्षिय सन्दिप ओली, ३२ वर्षिय रत्न भण्डारी, ३५ वर्षिय ऋषी देवकोटा सोही ठाउँकै ३७ वर्षिय लोकेन्द्र डाँगी, २९ वर्षिय नवीन भण्डारी, ३० वर्षिय विशाल भण्डारी र नेपालगञ्ज उपमहानगरपालिका–६ का ३१ वर्षिय बाला भनिने सन्तोष गुप्ताविरूद्ध मुद्दा दर्ता गराएको जानकारी दिएका छन् ।
खुकुरी प्रहार घटनामा संलग्नमध्ये हालसम्म वडा अध्यक्ष ओली, सन्दिप ओली, रत्न भण्डारी, सन्तोष गुप्तालाई घटना भएकै दिन शनिबार राति प्रहरीले नियन्त्रणमा लिएको थियो । अन्य पाँचजना आरोपित भने हालसम्म फरार रहेको तथा खोजी कार्य जारी रहेको एसपी कार्कीले बताए । गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट ओली वडा अत्तयक्ष निर्वाचित भएका थिए । उनी युवा संघ बाँकेका अध्यक्ष पनि हुन् ।
शनिबार फुटबल प्रतियोगिता हेरेर फर्कंदै गर्दा ढुकेर बसेको वडा अध्यक्ष ओलीसहितको एक समूहले सन्दिप बिष्ट र सुलभ मल्लमाथि आक्रमण गरेको थियो । खुकुरी प्रहारको घटनाको भत्र्सना हुँदै आएको छ ।