दाङ, साउन २९ । सल्यान जिल्लाको झन्डै आधा दर्जन स्थानहरुमा हाल स्याउको ब्यबसायिक खेती हुँदै आएको छ । बनगाड कुपिण्डे नगरपालिका– १२ निगाल्चुला, बनगाड –९ को जयतपानी, कुमाख गाउँपालिका– ३ नम्राइला र सापडाँडा र छत्रेश्वरी गाउँपालिका– २ साउनेपानी र गुँरासेमा स्थानीय किसानले ब्यबसायिक रुपमा स्याउखेती गर्दै आएका छन् ।
बागचौरको केही भूभाग तथा छत्रेश्वरीको लेकली बेल्टहरुमा पनि स्याउ उत्पादन हुँदै आएको छ ।
जिल्ला कृषी बिकास कार्यालय सल्यानका प्रमुख रमेशकुमार बस्नेतले जिल्लाको जयतपानी, सापडाँडा बढी स्याउ उत्पादन हुने गरेको जानकारी दिए । जिल्ला भर करिब ५५ हेक्टरमा स्याउ खेती गरिएको भएपनि राम्रो उत्पादन भने करिब ३८ हजार हेक्टर क्षेत्रफलमा मात्रै हुने कार्यालय प्रमुख बस्नेतले बताए ।
जिल्लामा बार्षिक उत्पादित स्याउ मध्य ३२ देखि ३५ मेट्रिक टनसम्म बजारमा बिक्री हुने गरेको तथ्याङ्क कृषी कार्यालय संग छ । यहाँका किसानले बार्षिक ५२ देखि ५५ लाखसम्म स्याउ बेचेर आम्दानी गर्ने गर्छन ।
बजारमा आउने बाहेक घरायसी प्रयोजनका लागि वा आफन्तलाई कोसेली पठाउनेहरु धेरै छन् । आफन्तलाई कोसेलीका रुपमा जिल्ला बाहिर पठाउने र घरायसी खफतका लागि भएको प्रयोग यमा गणना गरिएको छैन ।
जिल्लाका किसानले आँफुले उत्पादन गरेको स्याउ बगैचाबाटै केजीको सरदर एक सय ८० देखि दुई सय ५० सम्म बिक्र्री गर्दै आएको बस्नेतले बताए ।
सल्यानमा उत्पादन हुने अधिकाँस स्याउ जिल्लामै खफत हुने गरेको बस्नेतले बताउँछन् । सल्यानमा उत्पादन हँदुै आएको स्याउ गुलियोका साथै हल्का अमिलो खाले हुने गर्छ ।
बस्नेतका अनुसार सल्यानमा अन्ना र भेरिड जातको स्याउहरु उत्पादन हुँदै आएको छ । अन्ना उष्ण क्षेत्रमा पनि उत्पादन दिने स्याउ हो ।
यो जातको स्याउ न्यूनतम २० देखि अधिकतम ४५ डिग्र्री सेलसियससम्म पनि फल दिने स्याउ हो । हिमाली भेगमा फल्ने अरु स्याउहरुलाई ६००देखि ८०० घन्टा चिसो चाहिन्छ भने अन्ना जातको स्याउलाई २०० देखि ३०० घन्टा मात्रै चिसो समय भएपनि उत्पादन राम्रो दिन सक्ने कार्यालय प्रमुख बस्नेतले बताए ।
अन्ना जातको स्याउ १६००देखि १९०० मिटरको उचाइसम्म राम्रो फल दिने गर्छ । रेड डेलिसेश , गोल्डेन डेलिसेश जातको स्याउ २०००देखि २४०० मिटर र फूजी जातको स्याउ २६०० मिटर उचाइमा राम्रो मानिने बस्नेतले जानकारी दिए ।
जिल्ला कृषि बिकासले सिंचाई प्रबन्ध मिलाउने उदेश्यले जयतपानीका डेढ लाखको सिंचाई पोखरी निर्माण गरि दिएको छ । आँकाशे पानी भण्डार गरि सुख्खा मौसममा स्याउका बोटहरुमा पानी सिंचाइ पु¥याउने उदेश्यले पोखरी निर्माण गरिएको हो ।
कार्यालय प्रमुख बस्नेतले अहिले स्याउका बेर्नो वितरण, औजार सहयोग र तालिम लगाएतको बिषयमा आठ लाख रुपैंया बजेट आएको बताए । स्याउ पतझड बिरुवा भएको हुँदा आउने मंसिरदेखि ती काममा आएको बजेट सदुपयोग गरिने उनले जानकारी दिए ।
यो बाहेक कृर्षी बिकास कार्यालयले जिल्लाका स्याउ खेती गर्दै आएका किसानलाई समस्या परेको बेला प्राबिधिक सेवा उपलब्ध गराउँदै आएको बस्नेतले बताए । रोग तथा किरा लागेमा प्राबिधिक पुगेर समस्या समाधानका लागि सहयोग गर्दै आएको उनले जानकारी दिए ।
सल्यान स्याउ उत्पादनका दृष्टिकोणले राम्रो संभावना बोकेको जिल्ला भएपनि त्यो अनुरुप काम हुन नसकेको उनले स्वीकार गरे ।