दाङ, साउन २४ । सल्यानले एकै बर्षमा २८ करोड बढीको आलु बाहिरी जिल्लामा निर्यात गरेको छ । जिल्लाको बागचौर नगरपालिका दुई वडामा मात्रै यो बर्ष १२ करोड बढीको आलु उत्पादन भएको छ ।
बागचौर नगरका कृषी बिकास शाखा अधिकृत हेमराज बस्नेतका अनुसार पालिकाको सबै भन्दा धेरै वडा नं. १२ र वडा नं. ११ मा आलु उत्पादन हुन्छ । एक बर्षमा उनीहरुले १२ करोड बढीको आलु बाहिरी जिल्लाहरुमा बेचेका बस्नेतले बताए ।
नगरपालिकाले आर्थिक बर्ष २०७९ ÷ ०८० देखि आलु खेती गर्नै नगरका १ देखि १२ वटै वडाको तथ्याङ्क लिन सुरु गरेको थियो ।
नगरले हरेक वडामा आलुखेती गर्ने २० घरका दरले तथ्याङ्क संकलन गर्दै आएको छ । त्यो बर्ष १२ वडामा १२३ दशमलब ६४९५३ रोपनी क्षेत्रफलमा आलु खेती भएको थियो भने उत्पादन १७०६ दशमलब ०४७६ क्विन्टल भएको थियो । आर्थिक बर्ष २०८० ÷ ०८१ मा झन्डै दोब्बर २१९ दशमलब २४१२८ रोपनीमा स्थानीय किसानले आलु खेती गरेका छन् ।
उत्पादनपनि अघिल्लो बर्ष भन्दा २०८० ÷ ०८१ मा ३०८६ दशमलब ९८५६ क्वीन्टल पुगेको शाखा अधिकृत बस्नेतले बताए । बागचौरले आलु उत्पादन गर्ने किसानलाई अनुदान नदिएपनि उनीहरुको खेतीमा रोग किरा लागे वा कुनै समस्या आइ परे कृषी प्राबिधिक पठाएर सहयोग गर्ने गरेको छ ।
खाने (खाइने) आलु उत्पादन शिर्षकमा बिगतमा संघ सरकारले यहाँका किसालाई ५० प्रतिसत अनुदान दिने गरेको थियो । त्यो रकम बिऊ आलु उत्पादनका लागि आवश्यक सामाग्री खरिद, सिंचाई ट्याङ्की निर्माण, आलु भण्डारण लगाएतका लागि हुने गरेको थियो । आर्थिक बर्ष २०७९ ÷ ०८० मा संघ सरकारले ती शिर्षकमा ५० प्रतिसत अनुदान किसानलाई उपलब्ध गराएको थियो । त्यो आर्थिक बर्षमा १५ लाख ५० हजार बजेट संघ सरकारले पठाएको थियो । तर, हाल त्यो रोकिएको छ ।
किसान आलु खेतीमा थप आकर्षित हुनुको कारण बिऊ उत्पादनमा जिल्ला कृषि बिकास कार्यालयको सहयोगलाई मानिएको छ । जिल्ला कृषिले आलुको बिऊ उत्पादनमा किसानलाई ५० प्रतिसत अनुदान दिदै आएको छ ।
जिल्ला कृषि बिकास कार्यालयका प्रमुख रमेश बस्नेतका अनुसार कार्यालयले २०७७ देखि मुख्य आलुखेती हुने ठाउँहरु बागचौर ११ र १२ मा तीन बर्ष आलु ब्लक कार्यक्रम संचालन गरेको थियो । अहिले सोही कार्यक्रम बागचौर – ४ मा कार्यालयको तर्फबाट संचालन गरिएको छ । आलु ब्लक कार्यक्रम संचालन भएका ठाउँमा कार्यालयले किसानलाई बिऊ आलु खरिदमा ५० प्रतिसत अनुदान दिने गरेको छ ।
अहिले मुख्य खेती हुने ठाउँ ११ र १२ नम्बर वडामा आवश्यक तालिमका साथै सिंचाइका लागि मोटर खरिद र पिबीए ( प्रिब्रिडिङसिड)मा अनुदान दिदै आएको छ । जिल्ला कृषि कार्यालयले बागचौर – २ वटा आलु भण्डारण गर्ने घरपनि निर्माण गरिदिएको छ ।
तर, किसानहरुले ताजा आलु बेच्न फाइदा हुने हुँदा ती घरहरुमा उनीहरु बिऊ आलु मात्रै भण्डारण गर्दै आएका छन् । कार्यालयले दार्मागाउँपालिका – ५ मा २०७८ ÷ ०७९ मा ८ लाखमा र छत्रेश्वरी गाउँपालिका – ५ मा पनि १० लाखमा अहिले आलुको भण्डारण गर्ने घर निर्माण गरिदिएको कार्यालय प्रमुख बस्नेतले बताए । जहाँ १०० क्वीन्टल आलु भण्डार क्षमता छ ।
बस्नेतका अनुसार यतिखेर कार्यालयले किसानलाई नयाँ जातका आलुका बिऊहरु डिजोरे, कार्नेल र कुपु ज्योति खरिदमा अनुदान दिदै आएको छ । बिऊ एउटा आलुको दानालाई खरिद मूल्य झन्डै १८ रुपैंया पर्ने र त्यसमा किसानलाई ७० प्रतिसत अनुदान दिने गरिएको बस्नेतले बताए । नयाँ जातहरु बागचौर – ११, १२ का साथै अन्य ठाउँका किसानलाई अनुदानामा प्रदान गरिएको छ ।
जिल्लामा १७०० मिटरदेखि १८५० मिटरसम्म आलुको राम्रो उत्पादन हुने गरेपनि १९०० मिटर उचाइसम्म आलुखेती हुँदै आएको कार्यालय प्रमुख बस्नेतले बताए ।
आंशिक मात्रामा भएपनि सल्यानको त्रिवेणी गाउँपालिका – ४ को लेकाली बेल्टमा , छत्रेश्वरी गाउँपालिकाको – २, ३ र ५ का लेकाली बेल्टमा, दार्मा गाउँपालिका – ५ जलेश्वरमा, बागचौर– ६,७ र ९ को लेकाली बेल्टमा , वडा नं. ४ को आधा भागमा र मुख्य रुपमा आलुखेती बागचौर – १२ र ११ मा हुने गरेको कार्यालय प्रमुख बस्नेतले बताए ।
यो बर्षमात्रै सल्यान जिल्लाभरबाट २८ करोड १२ लाख मूल्य बराबरको आलु बाहिरी जिल्लामा निर्यात भएको आँकडा बस्नेतले प्रस्तुत गरे । जिल्ला भर यो बर्ष ७९ हजार ४ सय २५ क्वीन्टल भन्दा बढी आलु उत्पादन भएको थियो ।
जिल्ला कृषि बिकास कार्यालयले जिल्ला बाट आलु खरिद गरि दाङ लगाएत बाहिरी जिल्ला पठाउने ब्यापारी संग बुझेर यो आँकडा निकालेको बस्नेतले बताए । ‘सल्यानमा बर्षे आलु खेती गरेका किसानले अझैं आलु खन्ने क्रम जारी छ,’ उनले भने ‘ त्यो समेत जोड्दा अझैं बढी हुन्छ ।’
जिल्लाका किसानले यतिखेर आलुको मूल्य राम्रो पाएका छन् । सुरुमा केजीको ३२ देखि ३३ रुपैंया पाएका किसानले यतिखेर केजीको ४४देखि ४५ मा बिक्री गरि रहेका छन् । सरदर किसानले आलुको केजीको ३५ रुपैंयामा बेच्ने गरेको र त्यसबाट गत बर्षको तुलनामा राम्रै लाभ लिने अपेक्षा गरेको बस्नेतले बताए ।