तुलसीपुर, साउन २२ । दाङ तुलसीपुर खाद्रेका एक युवकले मातेको तालमा बोत्तल फोडेर त्यसको टुक्राहरु खाएपछि अस्पताल भर्ना भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका – ४ खाद्रेका २३ बर्षीय सञ्तोष बिकले मंगलबार बेलुकी मदिराले मातेपछि आफ्नै घरमा बियरको बोत्तल फोडी त्यसको टुक्राहरु खाएपछि उनी अस्पताल पुगेका हुन ।
सिसाका टुक्राहरु खाएका बिकको पेट तथा आन्द्रामा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
बिकले बेलुकी साढे ७ बजेतिर घरमै मदिरा सेवन पछि बियरको बोत्तल फोडेर त्यसका टुक्राहरु खाएपछि छटपटाउन थालेका थिए । पेटमा पीडा भएको भन्दै उनी छटपटाउन थालेपछि आफन्तले बिकलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याएका थिए ।
तुलसीपुरमा उपचार हुन नसकेपछि उनलाई तत्कालै बाँकेको कोहलपुरस्थित मेडिकल कलेजका लागि रिफर गरिएको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार बिकलाई तुलसीपुरमा सामान्ने उपचार पछि तत्कालै चिकित्सकले सवा ८ बजेतिर कोहलपुर रिफर गरिएको थियो ।
बिकले किन सिसाका टुक्राहरु खाएका थिए भन्ने बारे अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।