तुलसीपुर, साउन २० । घोराहीको अम्राइमा टिप्परको ठक्करबाट एक युवकको मृत्यु भएपछि पीडित पक्षले बन्द गराएको सडक खुलेको छ । बिहान ११ बजेपछि सडक खण्ड खुलेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी रामप्रशाद तिमस्लिनाले जानकारी दिए ।
बस्नेतको मृत्यु पछि आफन्तले उचित क्षतिपुर्तीको माग गर्दै सडक खण्ड अबरुद्ध पार्दै आएका थिए । प्रहरी प्रशासनको रोहबरमा पीडित पक्ष र टिप्पर समितिका बीचमा भएको छलफल पछि क्षतिपुर्तीको बिषयमा कुरा मिलेको हो ।
स्रोतका अनुसार मृतकका आफन्तलाई झन्डै नौं लाख जति क्षतिपुर्ती बाफत रकमदिने सहमति भएको छ ।
घटनास्थल घोराही उपमहागनरपालिका – १० अम्राइ नजिक आइतबार बिहान ६ बजेदेखि मृतकका आफन्तले तुलसीपुर – घोराही सडक खण्ड अवरुद्ध गर्दै आएका थिए ।
टिप्परको ठक्करबाट घोराही – १५ का ३९ बर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको थियो ।
शुक्रबार बेलुका सवा ८ बजेतिर बस्नेत सवार बा ५८ प ५६०५ नम्बरको मोटरसाइकललाई लु २ ख ५०८५ नम्बरको टिप्परले घोराही – १० अम्राई नजिकै ठक्कर दिएको थियो । बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।
टिप्पर घोराहीबाट तुलसीपुर तर्फ आउँदै थियो भने मोटरसाइकल घोराही तर्फ जाँदै थियो । चालक प्रहरी नियन्त्रणमा छन् ।
डिएसपी तिमल्सिनाले दाङमा सवारी दुर्घटना पछि सडक खण्ड बन्द गरेर क्षतिपुर्तीको नाममा बार्गेनिङ गर्ने गलत अभ्यास रहेको आँफुले पाएको बताए । कानुनले सवारी दुर्घटना पछि सडक खण्ड अवरुद्ध गर्न बन्देज लगाएको भएपनि दाङमा आँफु आएको छोटो अवधिमै दुई वटा यस्ता बन्दका घटना देखेको बताए ।
केही दिन पहिले मात्रै भालुवाङका स्थानीय एक ब्यापारीको सवारी दुर्घटनामा एक जनाको मृत्यु पछि पूर्व पश्चिम राजमार्ग आफन्तले बन्दा गराएका थिए । त्यहाँ पनि क्षतिपुर्तीमा कुरा मिलेपछि बल्ल सडक सूचारु भएको थियो ।
त्यस्तै घटना तुलसीपुर – घोराही सडक खण्डपनि दोहरिएको डिएसपी तिमल्सिनाले जानकारी दिए ।