तुलसीपुर , साउन १९ । तुलसीपुरको खाद्रेबाट अटोसहित बगेर बेपत्ता भएका दुई मध्य एक महिलाको शब फेला परेको छ ।
तुलसीपुर उपमहानगरपालिका – ४ स्थित ‘नवलपुर ठूलो खोला’मा आएको बाढीले अटो बगाउँदा स्थानीय खाद्रे गाउँकी ५५ बर्षीया सीता आलेको शब शनिबार बिहान तुलसीपुर – १५ स्थित हरिपौरी गनारीस्थित ग्वार खोलामा फेला परेको हो ।
तर, उनी संगै बगेर बेपत्ता सुर्खेत जिल्लाको बुमे घर भइ अध्यनका लागि खाद्रे गाउँमै बस्दै आएकी १७ बर्षीया मञ्जु खड्काको अवस्था भने अझैं अज्ञात छ ।
उनी तुलसीपुरस्थित गोरखा माविमा कक्षा ११ मा अध्यनरत छात्रा हुन । बिद्यालयका शिक्षक बिष्णु भण्डारीले गत केही समय पहिले मात्रै उनी अध्यनका लागि सुर्खेतबाट गोरखा माविमा भर्ना हुन आएको बताए ।
खड्का ५५ बर्षीया माउली हजुर आमा सीता आले संगै मामा घर जाँदै थिइन ।
शुक्रबार बेलुका तुलसीपुर बजारबाट खाद्रे गाउँ तर्फ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको अटो तुलसीपुर– ४ स्थित नवलपुर ठूलो खोलामा आएको बाढीले बगाएको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार अटोमा पाँच जना सवार रहेका थिए । चालक खाद्रे गाउँका ४६ बर्षीय हरिकिशन बिक, स्थानीय ३४ बर्षीया सुनिता थापा र उनका ७ बर्षीय छोरा सुशान्त आले भने बाढीबाट उत्रन सफल भएका थिए ।
आमा सुनिताले आँफुसहित छोरा सुशान्तलाई पनि जोगाउन सफल भएकी थिइन । खोलाले बगाएको अटोपनि फेला परेको छैन ।