तुलसीपुर, साउन १४ । बिकासको दृष्टिकोणले पछाडि पारिउको पश्चिम दाङको बिकासका बारेमा साझा धारणा बनाउने बारे सोमबार चार स्थानीय तहका प्रमुखले संयुक्त छलफल गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकाले विकासका लागि साझा धारणा बनाइ सहकार्य गर्ने निर्णय गरेका हुन ।
तुलसीपुर उपमहानगरको पहलमा भएको चारवटा पालिकाको बैठकले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा २६ बमोजिम तुलसीपुरका नगर प्रमुख टीकाराम खड्काको संयोजकत्वमा दंगीशरणका अध्यक्ष शम्भु गिरी, शान्तिनगरका अध्यक्ष प्रमोद बस्नेत र बबईका अध्यक्ष कुलबहादुर केसी सदस्य रहेको अन्तरपालिका समन्वय समिति गठन गरेको छ ।
तुलसीपुर उमहानगरका प्रेस संयोजक गणेश आचार्यका अनुसार समन्वय समितिको सदस्य सचिवमा तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी रहेका छन् ।
तुलसीपुरदेखी पश्चिम क्षेत्रको विकासका लागि चारवटा पालिकालाई एकै ठाउँमा बसेर छलफल गरि आवश्यक विकासका लागि हातेमालो गरेर अघि बढ्ने निर्णय भएको मेयर खड्काले बताए ।
बैठकले टरिगाउँ विमानस्थल बिस्तारका लागि भदौको पहिलो साता एमालेका महासचिव शंकर पोख्ररेल र नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीसहितको सहभागीतामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन निर्णय समेत गरेको छ ।
त्यस्तै आगलागी नियन्त्रणका लागि अत्याधुनिक प्रबिधिको दमकल खरिदमा साझेदारी गर्ने, तुलसीपुरमा अत्याधुनिक बधशाला निर्माणमा सहकार्य गर्ने र तुलसीपुर, दंगिशरण, शान्तिनगर बबईको जिला भ¥याङठुटी हुँदै पूर्व पश्चिम राजमार्गको ठुरे जोड्ने सडक निर्माण तथा स्तरोन्नतीका लागि प्रदेश र संघीय सरकारसँग माग गर्ने निर्णय पनि गरिएको छ ।
बैठकमा दंगिशरण, शान्तिनगर र बबईका उपाध्यक्ष र प्रमुश प्रशासकीय अधिकृतको पनि सहभागिता थियो ।