तुलसीपुर, साउन १३ । तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले अब छिट्टै तुलसीपुर बजार र आसपासका चार वटा हाइमाष्ट लाइटमा बिजुली बत्ती जडान हुने बताएका छन् ।
फरककोण संग फोन सम्बादमा मेयर खड्काले प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी आइतबार कार्यालय आइपुग्ने र त्यसपछि बिधिबत रुपमा हाइमाष्ट लाइटमा बिजुली बत्ती जडानको प्रक्रिया सुरु हुने बताए ।
‘कार्यकारी अधिकृत उपचार पछि आजै काठमाडौंबाट कार्यालय फर्किन्छु भन्नु भएको छ,’ मेयर खड्काले भने ‘ उहाँले नै हो हस्ताक्षर गर्ने र प्रक्रिया थालनी गर्ने उहाँ आउना साथ बत्ती जडानको प्रक्रिया सुरु हुन्छ ।’
बिरामी भएपछि प्रमुख प्रशासकीय अधिकृत बिगत केहीदिन यता काठमाडौंमा उपचाररत छन् । तर, कतिपय सर्वसाधारण भने मेयर खड्काले चाहेको भए अति जरुरी काम निमित्त प्रमुख प्रशासक मार्फतपनि अगाडि बढाएको भए हुन्थ्यो भन्ने कुरा गरि रहेका छन् ।
तुलसीपुरको ग्रुम्ह्रा चोक, बीरेन्द्र चोक, हात्तीखौवा चोक र बिजौरीमा गरि चार वटा हाइमाष्ट लाइटका लागि पोलहरु स्थापना भएको महिना दिन बढी पुगि सकेको छ । तुलसीपुर उद्योग बाणिज्य संघको पहलमा ‘उज्यालो तुलसीपुर’ अभियान अन्तरगत लुम्बिनी प्रदेश सरकारले झन्डै ५१ लाख बढी बजेट बिनियोजन गरि तुलसीपुरमा हाइमाष्ट लाइटका लागि पोलहरु स्थापना गरेको थियो ।
जस्लाई कतिपयले राज्यकै निकाय बिचको जुँगाको लडाइ अर्थात कस्ले क्रिडिट लिने ? भन्ने होडबाजीका रुपमा बुझ्न थालेका छन् ।
यस्तै कारणहरुले पोल गाडेको महिनादिन बढी भइ सक्दापनि बत्ती बाल्न आनाकानी भइरहेको भन्दै स्थानीय सरकार तथा जनप्रतिनिधिहरुको आलोचना हुन थालेको छ ।
मुख्य गरि स्थापना गरिएका हाइमाष्ट लाइटमा बत्ती जडान पछि त्यसको खर्च कस्ले बेहोर्ने ? भन्ने समस्या उत्पन्न भएको छ । त्यही कुराले बत्ती जडान प्रक्रियामा बिलम्ब भइ रहेको हो ।
‘यी हाइमाष्ट लाइट जडान भएमा त्यसले खपत गर्ने बिद्युतको बिलको जिम्मा कस्ले बेहोर्ने ? भन्ने मुख्य समस्या आइ परेको हो,’ एकजना जनप्रतिधिनले भने ।
जानकारहरुका अनुसार हाइमाष्ट लाइटमा बिजुली बल्न थालेपछि बर्षेनी झन्डै तीन लाख जतिको बिद्युत बिल उठ्न सक्ने अनुमान गरिएको छ । तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिनिल केसीले ब्यबसायीबाट बार्षिक लाखौं कर उठाउने स्थानीय सरकारले तुलसीपुरलाई रातिमा सुरक्षित राख्न वा उज्यालो पार्दा लाग्ने दुइदेखि तीन लाख भुक्तानी गर्न उपमहानगरपालिकाले आनाकाना गर्न नमिल्ने तर्क गरे ।
‘ मेयरसापले हाइमाइट लाइट स्थापन भएपछि स्थलगत अनुगमन गरि छिट्टै बिजुली बत्ती जडान गर्ने कुरा गर्नु भएको हो,’ अध्यक्ष केसीले भने ‘ तर,मेयर सापले भने अनुरुप काम किन भइ नरहेको हो ? हामी त्यही कुरा बुझ्न सकिरहेका छौं ।’
यही प्रश्न सोध्दा नेकपा एमालेका नेतासमेत रहेका मेयर खड्काले नगरले नै बत्ती जडान गर्ने र त्यसको स्वामित्व गर्ने गर्ने बताए । केही ढिला भएपनि तुलसीपुरलाई सुरक्षित र भयरहित बनाउने सवालमा हातेमालो गरि अगाडि बढ्ने उनले स्पष्ट पारे ।
मेयर खड्काले सुरुमा आँफुहरुलाई वेवास्ता गरि प्रदेश सरकार बढ्न खोजेको जस्तो अनुभूत भएपनि त्यसका पछाडि आँफुहरु लागि नरहने चित्त दुखाइको ब्यबहारको कुरा भने छिपाउन चाहेनन् ।
‘ कम्तिमा हामीलाई एक पटक सोधेको भएपनि राम्रो हुन्थ्यो , हामीलाई कुनै वास्ता गरिएन,’ उनले भने ‘ हाम्रै ठाउँको राम्रोको लागि काम हुँदैथ्यो भने त्यसबारे हामीलाई पनि सोधेको भए वा जानकारी गराएको भए के बिग्रन्थ्यो ? चित्त दुखाइ यही नेर हो ।’ तर, अब आँफुहरु नगरबासीको चाहाना अनुसार अगाडि बढ्ने भन्दै त्यस्ता कुराको पछाडि नलाग्ने मेयर खड्काले स्पष्ट पार्न चाहेका थिए ।
‘ म आम नगरबासीको खुसी र हितका लागि समर्पित भइ काम गर्दै आइ रहेको छु,’ उनले भने ‘ भविश्यमा पनि मेरो सम्पूर्ण समय नगरबासीकै हितमा खर्चिने छु ।’
आलोचकहरु भने मेयर खड्काले जति महत्व दिएर हाइमाष्टलाइटमा बिजुली बत्ती जडान गर्न ध्यान दिनुपर्ने थियो त्यो रुपमा चासो नदिएको आरोप लगाउँछन् ।
‘प्रदेश सरकारबाट प्राप्त होस वा संघ सरकारबाट कुनैपनि राज्यका निकायबाट सम्बन्धित पालिकाका लागि भनेर प्राप्त हुने बिकास निर्माण सम्बन्धि कुराहरु स्थानीय सरकारले ग्रहण गर्न किन आनाकानी गर्ने,’ एक जना तुलसीपुरका ब्यबसायीले भने ‘ जस्ले गरेपनि नगरबासीले बिकास खोजेका हुन र सुरक्षित नगर खोजेका हुन्छन् । यसमा उपमहानगरपालिका र बिषेश गरि मेयरसाप सकारात्मक बन्नु तथा स्वामित्व ग्रहण गर्नु बुद्धिमानी हो ।’
कस्ले क्रिडिट लिने भन्ने होटबाजी हो भने त संघ वा प्रदेशले बनाएका बाटो तथा पुल पुलेसामा स्थानीय सरकार प्रमुखहरु हिड्नै नहुने उनको तर्क थियो । ‘आम नागरिकलाई कस्ले ग¥यो वा कुन पार्टीले ग¥यो भन्ने कुरा संग खासै मतलब हुँदैन,’ उनले थप्दै अगाडि भने ‘ त्यो काम बाट नगर उज्यालो हुन्छ वा नगरबासीले सेवा सुबिधा पाउँछन् भने त्यसमा राजनीतिक रोटी सेक्ने काम कसैले गर्नु बेइमानी हो ।’
बिकास निर्माणका सवालमा जस्ले गरेपनि सकारात्मक रुपमा ग्रहण गर्ने उदारता जनप्रतिनिधि हौं भन्ने हरेक संग हुनुपर्ने उनको भनाइ थियो । ‘ हरेक नगरबासीको स्वार्थ रातको समयमा पनि कसरी सुरक्षित र भएरहित तुलसीपुर बनाउने भन्दा अरु छैन,’ उनले भने ‘ हाइमाष्ट लाइट जडान पछि तुलसीपुर बजार थप उज्यालो हुने छ र बाहिर बाट आउने हरेकले ‘वाउ..ऊ..’ तुलसीपुर भन्ने छन् अनि त्यसको सम्पूर्ण श्रेय मेयरसापलाई नै जाने छ ।’
तस्बिर :फरककोण