तुलसीपुर, साउन २ । तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित कमलपोखरीमा पानी रोक्न तीन ठाउँमा सिमेन्टले टालिदै छ । पोखरी भित्रको पानी चिरा (प्वाँल) बाट बगेर गइ सुकेपछि तीन ठाउँमा सिमेन्टले पानी चुहिने प्वाँलहरु टाल्न थालिएको हो ।
पोखरीमा प्रबेश गर्ने भ¥याङ (सिडी)को वरिपरी, बीचमा निर्मित क्रँकिट कमलको आकृती र उत्तर तर्फको वाल नजिकै आरसिसी ढलान गरि टालिएको छ । भ¥याङ नजिक सिमेन्टको वालले वरिपरी टाली सकिएको छ भने क्रँकिट कमलको आकृति र उत्तर तर्फको पर्खाल नजिकमा टाल्न बाँकी छ । ती ठाउँबाट पानी बगेर ताल सुकेपछि सिमेन्टले टाल्न थालिएको हो ।
बिपदको समयमा पानीको आवश्यक जोहो गर्न र सौदर्यकरणका लागि भनेर यो तालमा झन्डै दुई करोड बढी खर्चेर पक्की संरचना निर्माण गरिएको छ । पछिल्लो समय झन्डै ६० लाख खर्चेर फागुन २३ गतेदेखि असार ३ गतेसम्म सुधारको काम गरिएको थियो ।
तयार नेपालले कमल पोखरी सुधार कार्यमा कुल लागत (भ्याट बाहेक) ५९ लाख, ७८ हजार ५ सय ९२ रुपैयाँ खर्चिएको थियो ।
कमल पोखरी सुधार कार्यका प्राविधिक इञ्जिनियर शरद अधिकारीले सुधारको कार्य अन्तर्गत पोखरीभित्रको सतह रातो माटोले १८ इञ्च फिलिङ गरिएको थियो। त्यो माटो संगै मिसाएर पानी रोक्न (अड्याउन)का लागि ‘बेन्टो नाइट पाउडर’ मिलाएर राखी त्यसलाई कम्प्रेसले पेलिएको थियो ।
कमल पोखरीको सतह भित्र १ हजार २६० घनमिटर माटो फिलिङ गर्दा प्रत्येक लियरमा ५ प्रतिशतका दरले तीन तहमा माटोसहित मिलाएर ‘बेन्टो नाइट पाउडर’ फिलिङ गरिएको इञ्जिनियर शर्माले बताएका थिए ।
इञ्जिनियर शर्माका अनुसार एक लेयर माटो र पाउडर फिलिङ गर्दा झन्डै १२ टिपर माटो र ५० केजीको ५०० बोराका दरले ‘बेन्टो नाइट पाउडर’ प्रयोग भएको थियो। तालभित्र २६ टिप्पर माटो र झन्डै १५०० बोरा ‘बेन्टो नाइट पाउडर’ मिसाएर फिलिङ गरिएको थियो । ‘बेन्टो नाइट पाउडर’ पानी रोक्नका लागि प्रयोग हुने गर्छ ।
त्यति गरेपछि मध्य असारमा ताल भित्र पानी भरिभराउ भएको थियो । तर, तालको पानी दुई हप्ता दिन पछि चिरा (प्वाँल) परेपछि त्यहीबाट पानी बगेर गइ सुकेको थियो ।
पानी सुकेपछि फेरि तयार नेपालले ती प्वाँलहरु टाल्न सिमेन्ट प्रयोग गरेको हो ।
त्यो बाहेक तुलसीपुर उपमहानगरपालिकाले पनि तालको बाहिरी संरचना मर्मतका लागि साढे ६ लाख खर्चिएको थियो। त्यो रकमले पोखरी बाहिरको गेटसहित केही पर्खाल निर्माणको काम गरिएको तुलसीपुरका इञ्जियिनर हिमाल शर्माले बताएका थिए । रकमान्तर गरी साढे ६ लाख बजेटबाट नगरले छुट्टै काम गरेको थियो ।
झन्डै ६ दशक पहिले कमल पोखरीमा आसपासका पशु चौपाया सुख्खा मौसममा पाँच बर्ष पहिलेदेखि कमल पोखरी क्रंकिट बनाउने क्रम सुरु भएको थियो । त्यो कामका लागि यो भन्दा पहिले विभिन्न निकायले डेढ करोड जति रकम खर्च गरेका थिए । तुलसीपुर उपमहानगरपालिकाले २५ लाख रुपैयाँ, लुम्बिनी सरकारअन्तर्गत कोहलपुर पर्यटन डिभिजन कार्यालयको ४६ लाख ५४ हजार ३५२ रुपैयाँ र युएसएआइडीको तयार नेपालको (भ्याटसहित) ८० लाख ५ हजार ६०१ रुपैयाँ लगानी गरेका थिए ।
यी सबै निकायको झन्डै डेढ करोड रकमबाट प्राकृतिक अवस्थाको ताललाई पर्खाल लगाउनुका साथै बीचमा गहिरो पारी बीचमा क्रंकिट कमलको आकृती निर्माण गरिएको छ ।
तर, त्यासरी निर्माण गरिएको कमल पोखरी भित्र पानी नअडिएपछि आलोचना सुरु भएको थियो । सर्वसाधारणले पानी बिनाको पोखरीको के काम भनेर प्रश्नहरु गर्न थालेका थिए ।
त्यसपछि बल्ल तयार नेपालले फेरि ताल सुधारका लागि झन्डै ६० लाख खर्चेको थियो । बल्ल तालमा पानी भरिभराउ भएको थियो । फेरि तालभित्र चिरा परि पानी बगेर गएपछि प्वाँलहरु टाल्ने काम गर्न थालिएको हो ।