तुलसीपुर, साउन १ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङले साउन १ गतेदेखि बिरामीबाट भर्ना शुल्क लिन थालेको छ । यसअघि सम्म भर्नादेखि बेड चार्जसम्म निशुल्क थियो ।
बिगत दुई यता सेवाग्राही अर्थात बिरामीले अस्पतालमा भर्ना हुँदादेखि बेड उपयोग गरे बाफत कुनै पैंशा तिर्नु पर्दैन थियो ।
तर, आज अर्थात साउन १ गतेदेखि अस्पतालले नयाँ बिरामी दर्ताका लागि २० रुपैंया, पुनःदर्ता गर्नुपरे १० रुपैंया, बिरामी भर्ना गर्नु परे १०० रुपैंया र बेडको चार्जपनि १०० रुपैंया लिन सुरु गरेको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पनि मंगलबार सार्वजनिक सूचना जारी गर्दै सेवालाई सशुल्क गरिएको बारे जानकारी दिएको छ ।
बुटवल अस्पतालमा ओपीडी सेवाका लागि भर्ना शुल्क ३० रुपैयाँ र पुनः दर्ताका लागि १५ रुपैयाँ र जनरल बेडका लागि सेवाग्राहीले प्रतिदिन ३० रुपैयाँ तिर्नुपर्ने नियम लागु गरेको छ ।
निशुल्क रुपमा दिदै आएको सेवालाई किन सशुल्क गर्नु परेको हो ? राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका प्रशासन शाखाका प्रमुख रश्मिराज अधिकारीले यसअघि लुम्बिनी प्रदेश सरकारले अस्पतालाई दिँदै आएको सोधभर्ना रोकेपछि अस्पताल दुई बर्ष पहिलेकै ब्यबस्थामा फर्किन बाध्य हुनु परेको बताए ।
‘ त्यही भएर पहिले जस्तै बिरामीबाट टिकट काट्नेदेखि भर्ना र बेड चार्जसमेत उठाउनु पर्ने परिस्थिति उत्पन्न हो,’ उनले भने ।
बितेको आर्थिक बर्षमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले सोधभर्ना बाफत पाउनु पर्ने ४८ लाख रकम नपाएको उनले बताए । प्रदेश सरकारले आफ्नो आगामी बर्षको बजेटमा सोधभर्नाको ब्यबस्था नै हटाएको छ ।
त्यही भएर अस्पताल बिकास समिति बाध्य भइ पुरानै ब्यबस्थामा फर्किन बाध्य भएको उनले जानकारी दिए ।