तुलसीपुर, असार १८ । जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले राष्ट्रिय तालिका अनुसार खोप लगाउन पाउनु हरेक बालबालिकाको नैसर्गिक अधिकार भएको बताएका छन् ।
मंगलबार तुलसीपुर उपमहानगरपलिकाको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै राज्यले आफ्ना हरेक नागरिकलाई निरोगी राख्न १५ महिनासम्मका बालबालिकालाई १३ प्रकारका खोप दिने भएको हुँदा त्यो अनिवार्य रुपमा लगाउन पाउनु बालबालिकाको अधिकार भएको बताए ।
‘ खोप आँफैमा महत्वपूर्ण छ,’ उनले भने ‘ नागरिक कोही रोगी नहुन भन्ने उदेश्यले ती खोप राज्यले निशुल्क गरेको हो ।’
त्यस्तै उनले ठूला ठूला बिकास निर्माणका कार्य संघीय वा प्रदेश सरकारले गर्ने भएपनि स्थानीय सरकारको प्रमुख दायित्व जनतालाई राहात दिने खाले हुनुपर्ने बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुरका मेयर टीकाराम खड्काले पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न पाउनु सबै नगरबासीका लागि खुसीको कुरा भएको भन्दै भविश्यमा यसलाई निरन्तरता प्रदान गरि पूर्ण स्वास्थ्य पालिका घोषणा गर्न सके आँफु थप खुसी हुने बताए ।
‘यो सबै सफलताको श्रेय स्वास्थ्यकर्मीलाई नै जान्छ,’ उनले भने ‘ सम्पूर्ण स्वास्थ्यकर्मीको परिश्रमबाटै पालिका पूर्ण खोप सुनिश्चिता घोषणा गर्न आज संभव भएको हो।’ भविश्यमा पालिका भित्र खोप सहज र सुलभ रुपमा लगाउनका लागि थप खोप केन्द्र बिस्तार गर्न प्रयास हुनेपनि मेयर खड्काले बताएका थिए ।
त्यस्तै उनले उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मी तथा स्वएंम सेविकाको उचित मुल्याङ हुने र उनीहरुलाई भविश्यमा अनुगमण तथा भ्रमणमा लगिने बताएका थिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले एक सर्वेको तथ्याङ्क अनुसार नेपालमा ८० प्रतिशत बच्चाले पुर्ण खोप लगाएको जानकारी गराए । त्यस्तै १६ प्रतिशत बच्चाहरुले आंशिक रुपमा खोप लगाएका छन । जिरो डोजका बच्चाहरु ४ प्रतिशत रहेका छन । जुन पाँच वर्ष पहिले जिरो डोजका बच्चाहरु १.६ मात्र थिए ।
‘अहिले पुर्ण खोप लगाउने बच्चाहरु बढेका छन भने आंशिक रुपमा खोप लगाउने बच्चाहरु घटेका छन । तर जिरो डोजका बच्चाहरु बढेका छन । तुलसीपुरमा भने जिरो डोजका बच्चाहरु एउटा पनि भेटिएनन् । दाङ जिल्लामा सधै उत्कृट हुने गढवा,राप्ती ,घोराहीमा पनि जिरो डोजका बच्चाहरु भेटिरहेका छन,’उनले भने । कुनै पनि बच्चा खोप नपाएर अपांग,बिरामी र मृत्यु नहोस भन्ने नै खोप अभियानको मुख्य उद्देश्य रहेको उनले बताए ।
त्यस्तै उहाँले दाङमा अहिलेसम्म ६ पालिकाले पुर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिसकेका छन ।
जसमा राप्ती,गढवा,लमही,दंगीशरण,शान्तिनगर,तुलसीपुर रहेका छन ।
अन्य पालिका पनि २० गते सम्म पुर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गर्ने तयारीमा रहेको प्रमुख आचार्यले जानकारी दिए । जिल्लाका सबै पालिका पुर्णखोप सुनिश्चित भैसकेपछि यहि महिना भित्र दाङ जिल्लालाई पुर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिने उनको भनाई छ ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक बिमल केसीले आर्थिक वर्ष २०८०÷०८१ मा तुलसीपुरमा कुल जनसङ्या मध्ये ८ हजार ६ सय ८३ जना बालबालिकालाई खोप लगाइएको बताए ।
नियमित खोप तथा सरसफाई प्रवर्धन कार्यक्रम अन्तरर्गत पालिकाको तर्फबाट सबै खोपकार्यकर्ताहरुलाई शुक्ष्म योजना सरसफाई प्रबर्धन तथा पूर्ण खोप सुनिश्चितता ,दिगोपना तथा अनुगमन तालिका भराई सम्बन्धि अभिमुखिकरण गरिएको,पालिकाबाट नै गत बर्ष शुक्ष्म योजना फारम छपाई गरिएको र शुक्ष्म योजना फराम तयार गरिएको,यो बर्षको बैशाख महिना देखि पालिकाबाट नियमित खोप बितरण गर्न थालिएको,केहि वार्डहरुमा नियमित रुपमा सरसफाई प्रबर्धन अभ्यास राम्रो भएको,पालिकाबाट भ्याकसिन क्यारियर ब्याग बितरण गरिएको जानकारी गराए ।
त्यस्तै उनले कार्यक्रमहरु सञ्चालन गर्दा शहरी क्षेत्रमा बच्चा संख्या एकिन नहुनु,
अस्पतालहरुमा नियमित सरसफाई प्रबर्धन कार्यक्रम संचालन गर्न समयमा खोप सम्बन्धि कागजात कार्ड फारम उपलब्ध नहुनु,खोप कार्ड सुरक्षित तरिकाले नराख्नु ,बेला बेलामा कुनै कुनै खोप उपलब्ध नहुनु ,सवै खोप संचालन गर्ने संस्थाहरुलाई कार्यक्रममा सहभागी नगरिनु,खोप सम्बन्धि आधारभूत तालिम÷रेफ्रेशर नहुनु ,सवै खोप केन्द्रहरु व्यवस्थित नहुनु,अस्थाई बसोबास वा इट्टा भट्टामा बाहिरका बच्चाहरुलाइनियमित खोप कार्यक्रममा समाबेस गर्न समस्या लगाएतका चुनौतीहरु रहेको समेत बताए ।
कार्यक्रममा जनस्वास्थ्य प्रबर्द्धन शाखा प्रमुख ओमप्रकाश न्यौपाने,सामाजिक बिकास समितिका सयोजक मान बहादुर रावत,राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका अध्यक्ष पदम न्यौपाने लगाएतले बोलेका थिए ।