घोराही,असार ११ । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि दुई अर्ब ४२ करोड ७७ लाख १८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०८०÷०८१ का लागि २ अर्ब १५ करोड ५४ लाख ८३ हजार रुपैयाँको बजेट विनियोजन गरेको घोराहीले आगामी वर्षका लागि २७ करोड बढीको बजेट ल्याएको हो ।
नगर उपप्रमुख हुमाकुमारी डिसीले आइतबार नगरसभाको १५ औं अधिवेशनमा बजेट प्रस्तुत गर्दै चालुतर्फ एक अर्ब २७ करोड १० लाख १२ हजार अर्थात् ५२.३५ प्रतिशत र पूँजीगततर्फ एक अर्ब १५ करोड ६७ लाख छ हजार अर्थात् ४७.६५ प्रतिशत बजेट विनियोजन भएको जानकारी दिइन ।
कुल विनियोजित रकममध्ये संघ सरकारबाट प्राप्त हुने सशर्त अनुदान रु. ८२ करोड ९७ लाख ५८ हजार मध्ये रु. ११ करोड ६३ लाख २० हजार अर्थात १४.०२ प्रतिशत पूँजीगत खर्च र रू. ७१ करोड ३४ लाख ३८ हजार अर्थात् ८५.९८ प्रतिशत चालु खर्च रहेको छ ।
त्यस्तै प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान रु. ३ करोड ६४ लाख ६२ हजारमध्ये रु. ३ करोड ६० लाख अर्थात् ९८.७३ प्रतिशत पूँजीगत खर्च र रू. ४ लाख ६२ हजार अर्थात् १.२७ प्रतिशत चालु खर्च रहेको छ । संघ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजश्व बाँडफँँड र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आय (घर जग्गा रजिष्ट्रेशन, बैंक मौज्दात समेत) बाट विनियोजन गरिएको बजेट रु. १ अर्ब ५६ करोड १४ लाख ९८ हजारमध्ये रु. ५५ करोड ७१ लाख १२ हजार अर्थात् ३५.६८ प्रतिशत चालु खर्च र रू १ अर्ब ४३ लाख ८६ हजार अर्थात् ६४.३२ प्रतिशत पूँजीगत खर्च रहेको छ ।
क्षेत्रगत बजेटतर्फ आर्थिक विकास अन्तर्गत कृषि विकास, पशु सेवा, पर्यटन तथा संस्कृति प्रवद्र्धन, सीप विकास तथा उद्यम प्रवद्र्धन, सहकारी तथा रोजगार प्रवद्र्धन, उपभोक्ता हित संरक्षण, प्रधानमन्त्री रोजगार कार्यक्रम, सुरक्षित आप्रवासन कार्यक्रमसमेत आन्तरिकतर्फ ४ करोड ३२ लाख र संघ तथा प्रदेश सरकारबाट प्राप्त अनुदान समेत गरी जम्मा ९ करोड ३५ लाख ७ हजार विनियोजन गरिएको छ ।
सामाजिक विकास अन्तर्गत शिक्षा, युवा तथा खेलकूद, जनस्वास्थ्य प्रवद्र्धन, महिला, बालबालिका तथा समाज कल्याण र सामाजिक सुरक्षा तथा पंजीकरण क्षेत्रहरुमा जम्मा आन्तरिक २२ करोड ८३ लाख २४ हजार र संघ तथा प्रदेश सरकारबाट प्राप्त अनुदान समेत गरी जम्मा ९५ करोड ३८ लाख ३७ हजार विनियोजन गरिएको छ ।
सडक पिच, ग्राभेल तथा बाटो स्तरोन्नति, कल्भर्ट, सिंचाई तथा खानेपानी, विद्युत विस्तार, पार्क, उद्यानलगायत पूर्वाधार विकासतर्फका सबै प्रकृतिका आयोजना निर्माण सम्बन्धी कार्यका लागि आन्तरिकतर्फ ७३ करोड १ लाख ४५ हजार, संघ सरकारबाट प्राप्त अनुदानतर्फ ५ करोड ५० लाख, प्रदेश सरकारबाट प्राप्त अनुदानतर्फ २ करोड ८० लाख र योजना तथा अनुगमन, भवन अनुमति मापदण्ड कार्यान्यवन सम्बन्धी कार्यक्रमका लागि २२ लाख समेत गरी पूर्वाधार विकासतर्फ जम्मा ८१ करोड ५३ लाख ४५ हजार विनियोजन गरिएको छ ।
सरसफाई, वन, वातारण तथा विपत् व्यवस्थापनमा आन्तरिकतर्फ जम्मा २ करोड ७९ लाख ७५ हजार र संघ सरकारबाट प्राप्त अनुदानबाट समेत गरी जम्मा ३ करोड ५३ लाख ४५ हजार बजेट विनियोजन गरिएको छ ।
सार्वजनिक सेवा, सुशासन, सूचना प्रविधि तथा संचार, संस्थागत विकास र अन्य सम्बन्धित क्षेत्रतर्फ जम्मा १ करोड ६६ लाख ९७ हजार बजेट विनियोजन गरिएको छ ।