
दाङ, जेठ २२ । धरानका पत्रकार दिलवहादुर राई (आशिष) माथि मंगलवार राति टेलिभिजनको कार्यालयमा काम गरिरहेको अवस्थामा धारिलो हतियारले आक्रमण भएको छ । नेपाल पत्रकार महासंघ धनकुटाका कार्यकारी सदस्य तथा डिबी आर टेलिभिजन धरानका प्रमुख राईको आक्रमण बाट टाउकोमा गहिरो घाउ लागेको छ । युवाहरुको एक समुह गएर राईमाथि धारिलो हतियार प्रयोग गरि घाईते तुल्याएका थिए ।
यसैबीच नेपाल प्रेस युनियनले पत्रकार राईमाथि भएको आक्रमण प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । युनियनका महासचिव अजयवावु शिवाकोटीले प्रेस विज्ञप्ति जारी गर्दै आक्रमणकारीको खोजी गरि तत्काल कानुनी उपचार थाल्न माग गरेका छन् ।
‘पत्रकारको नाक भाच्न एक करोड छुट्टयाएको भनेर सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीले सार्वजनिक रूपमा धम्की दिएकै बेला सुनसरीको धरान उपमहानगरपालिकामा भएको यो आक्रमण मौलाउँदो दण्डहिनाताको नमुना हो,’ महासचिव शिवाकोटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘समाचार लेखेकै भरमा पत्रकार राईलाई आक्रमण गरी घाईते बनाएको घट्नाको हामी घोर भत्सना र विरोध गर्दै तत्काल आक्रमणकारीहरुलाई पक्राउ गरी कडा भन्दा कडा कारवाहीको माग गर्दछौं ।’
साथै विज्ञप्तिमा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत पत्रकार राईको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।