दाङ, असार ६ । रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ । दुर्घटनामा परि थप ६ जना घाइते भएका छन् ।
दुर्घटनाका घाइते मध्य चौरजहारी नगरपालिका – १२ का २५ बर्षीय गोपाल खत्रीको मिसन अस्पताल चौरजहारीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बिहीबार बिहान १० बजेतिर चौरजहारी नगरपालिका – १२ को साना खोलास्थित भित्री सडक खण्डमा कुलो निर्माणको लागि ढुँगा बोकेर जाँदै गरेको कर्णाली प्रदेश ०३००१ त ०००१ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको थियो ।
खत्रीको साढे ११ बजेतिर उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नबराज पोख्रेलले जानकारी दिए ।
ब्रेक फेल भइ सडकदेखि झन्डै ८० मिटर तल ट्रयाक्टर खस्दा चौरजहारी नगरपालिका – ११ का ९ बर्षीय डिल्ली डाँगी, चौरजहारी – १२ का ४३ बर्षे बलु जैसी, सोही ठाउँकी १२ बर्षीया कल्पना वली, सोही ठाउँकै ४३ बर्षीय शरद शर्मा, चौरजहारी – ५ का २३ बर्षीय चालक लक्ष्मण कुमाइ र सोही ठाउँकै २० बर्षीय बिकास कुमाइ घाइते भएका छन् । घाइतेहरुको चौरजहारीमा उपचार जारी छ ।
घाइते मध्य ४ जनाको अवस्था मध्यम छ भने २ जना ९ बर्षीय डिल्ली डाँगी र चालक लक्ष्मण कुमाइको अवस्था सामान्ने रहेको प्रहरीले बताएको छ ।