तुलसीपुर, असार २ । तुलसीपुरस्थित पब्लिक ज्ञानज्योति स्कूलले शनिबार बेलुका नै आफ्ना अभिभावलाई मोवाइलमा म्यासेज पठायो ।
‘आदरणीय अभिभावकज्यू, मौसममा सुधार नभएकाले मिति २०८१ असार २ र ३ गते बिद्यालय बन्द रहने छ, ज्ञान ज्योति स्कूल ।’
तुलसीपुर क्षेत्रका अन्य बिद्यालयहरुले पनि आफ्ना बिद्यार्थीलाई यसैगरि सूचना वा जानकारी दिएर गर्मीका कारण आजपनि बिद्यालय नखुल्ने बेहोरो जानकारी गराएका छन् ।
पानी नपर्नु र गर्मी कम नहुनु जस्ता कारणहरुले अत्यधिक गर्मी बढेको छ । जस्ले गर्दा आजपनि बिद्यालयहरु नखुल्ने भएका हुन ।
जिल्लाका १० मध्य आठ पालिकाले गर्मीका कारण दुई दिन बिद्यालय वन्द गरेका थिए । मध्य जेठमा गर्मीका कारण हप्ता दिन बिद्यालय बन्द गरिएका थिए ।
यो बीचमा पानी नपरेपछि तुलसीपुर उपमहानगरपालिकासहित अधिकाँस पालिकाले आजपनि बिद्यालय बिदा दिएका हुन ।
सोमबारसम्मपनि पानी नपरे बिदा लम्बिन सक्ने अवस्था देखिन्छ ।
मौसम बिज्ञान बिभाग फिल्ड कार्यालय घोराहीका अनुसार शनिबरबा बेलुका जिल्लाको अधिकतम तापक्रम ३८ दशमलब ५ डिग्री सेलसियस थियो ।
जिल्लाको अधिकतम तापक्रम शालाखाला ३९ डिग्री सेलसियसको वरिपरी घुमिरहेको छ । जेठ १५ यता दुई पटक दाङको अधिकतम तापक्रम ४० दशमलब २ डिग्र्री सेलसियससम्म पुगेको छ । जुन १२ बर्ष यताकै उच्च तापक्रम हो ।
लामो समयदेखि पानी नपार्दा किसानले रोपेका मकैका बोटहरु सुक्न थालेका छन् । ध्यानको ब्याड राखेका खेतहरु पटपटी फुटेका छन् ।
दिउँसोमा तातो हावा चल्ने हुँदा घर बाहिर निस्कनै मुस्लिक पर्छ । अत्याबश्यक काम परेका बाहेक दिउँसोमा मानिसहरु घर बाहिर बिरलै निस्कने गरेका छन् ।