तुलसीपुर, जेठ ३२ । तुलसीपुर उपमहानगरपालिका – ४ बनहरीका इश्वरी बुढाले १५ बर्षीय छोरा धुर्व बुढाको स्मृतिमा तुलसीपुरस्थित मानव सेवा आश्रममा बसोबस गर्दै आएकाहरुलाई भोजन गराएका छन् ।
सात बर्ष पहिले जेठ ३२ गतेका दिन इश्वरका छोरा १५ बर्षीय धुर्वको छिमेकी देश भारतको मुम्बैमा तलाउमा नुहाउने क्रममा डुबेर मृत्यु भएको थियो । छोरा धुर्बको स्मृतिमा बुवा इश्वरले शुक्रबार तुलसीपुरस्थित मानव सेवा आश्रममा बसोबास गर्दै आएका जेष्ठ नागरिक तथा बालबालिकालाई निशुल्क भोजन गराएका हुन ।
५२ बर्षीय इश्वरीले छोरोको स्मृति दिवसको अवशरमा आश्रममा आस्रित जीवन बिताउँदै आएका ६३ जना सर्वसाधारणलाई शुक्रबार बिहानको खाना निशुल्क खुवाएका हुन ।
मानविय सहयोगको भावनाले आँफुले छोराको स्मृतिमा आश्रममा बसोबास गर्दै आएकाहरुलाई एक बिहानको खाना खुवाउन पाएकोमा खुसी लागेको इश्वरीले बताए । त्यसका लागि उनले दश हजार खर्च गरेका थिए ।
