तुलसीपुर , जुठ ३१ । तुलसीपुर उपमहानगरपालिका – ७ झुमर्रेकी मणिकला महतरा क्षत्रीले बुवा बेपत्ता भएको भन्दै जिल्ला अदालत दाङमा निबेदन दिइन ।
२०७९ ÷११ ÷ १४ गते मणिकलाले बुवा शंकर थापा २०३५ साल असार ३ गतेदेखि बेपत्ता रहेको हुँदा ‘मृत्युको न्यायिक घोषणा गरि पाउँ’ भन्दै निबेदन दिएकी थिइन ।
छोरीको निबेदनका अनुसार ४६ बर्षदेखि तुलसीपुर – ४ बनहरीका मणिकलाका बुवा शंकर बेपत्ता थिए । बर्षौंदेखि बुवा बेपत्ता रहेको हुँदा बुवाको सम्पत्ति आँफुले पाउनु पर्ने मणिकलाले माग दाबी पेश गरेकी छन् ।
छोरी मणिकलाको निबेदनका आधारमा सोही बर्ष जिल्ला अदातलले आफ्ना कर्मचारी गाउँ सर्जिमनमा खटायो । गाउँका केही जान्ने सुन्ने र जेष्ट नागरिकले शंकर थापा बर्षौैंदेखि बेपत्ता रहेको तथा गाउँमा आउजाउ नरहेको बयान गरिदिए ।
त्यस बिरुद्ध २०८० बैशाख ५ गते शंकरका भाइ नेपबहादुर थापाले अदालत पुगे । नेपबहादुरले नै भतिजी मणिकलालाई पालन पोषण गरेका थिए । गाउँलेले गरेको सर्जिमन र बयान गलत रहेको भन्दै जाल साँची मुद्दा लिएर अदालत पुगे ।
नेपबहादुरले आफ्ना दाजु भारतको नागाल्यान्डमा रहेको तथा ज्यूँदै रहेको दाबी अदालत समक्ष पेश गरे । उतिखेर नागाल्यान्डमा लडाइ जारी रहेको हुँदा तत्काल ल्याउन नसक्ने हुँदा केही समय माग गरे । २०८१ जेठ २० गते नेपबहादुरले दाजु भन्दै शंकरलाई अदालतमा पेश गरेका छन् । यो मुद्दामा अदालतमा बिचाराधिन छ ।
बनहरीका नेपबहादुरका अनुसार उनले आफ्ना दाजुलाई भाइ अंश बण्डा बाफत झन्डै डेढ बिगाहा जग्गा दिनुपर्ने छ । ‘छोरीले ज्यूँदो बुवालाई म¥यो भन्ने आशयका साथ अदालत पुगेको हुँदा म दाजु खोज्न भारतको नागाल्यान्डसम्म पुगेको हुँ,’ नेपबहादुरले भने ।
बनहरीमा एक कठ्ठा जग्गाको मूल्य हाल कम्तिमा पनि दश लाख माथि छ । डेढ बिगाहा जग्गाको मूल्य झन्डै अढाइ करोड बढी पर्ने देखिन्छ । बुवा बेपत्ता रहँदै आएको हुँदा त्यो जग्गा स्वतह आँफुले पाउनु पर्ने माग छोरी मणिकलाको छ । यही बीचमा भाइले दाजु खोजेर ल्याएको दाबीका साथ अदालतमा पेश गरेपछि अब के हाला ? भन्ने चासो स्थानीयलाई छ । कुनै सिनेमाको कथा जस्तै लाग्ने शंकरको कथा बारे अदालतबाट अन्तिम फैसला आउन बाँकी नै छ ।
शंकरका अनुसार उनी २०३३ सालमा गाउँकै मानिसको पछि लागेपछि छिमेकी देश भारत पुगेका थिए । फूलबारीको तुहीखोलाबाट उनले बिहे गरेका थिए । मणिकला एक बर्ष ८ महिनाको छँदा उनकी आमा रेणुकाकुमारी थापा फेरि गर्भबती थिइन । त्यही बेला अत्यधिक रक्तश्राबका कारण रेणुकुमारीको मृत्यु भएको स्थानीयले बताए ।
त्यसको एक डेढ बर्षमै शंकर भारत तर्फ लागेको बताउँछन् । शंकरको बुवाको मृत्यु भइ सकेको थियो । आमाले दोस्रो बिहे गरेकी थिइन । र पनि आमाले नै शंकरको बिहे गरि दिएकी थिइन । नागाल्यान्ड पुगेपछि उनी फर्केर आउन खोजेपनि सकेनन् । त्यसपछि उतै बिहे गरे ।
शंकरका अनुसार तीन छोरा र एक छोरी त्यहीको श्रीमति बाट छन् । तर, ती श्रीमतिको पनि मृत्यु भयो । सन २००८ मा फेरि उनले अर्की श्रीमति ल्याएको बताए । पहिलेका श्रीमतिबाटका छोरा छोरी र आँफुहरु सबै मिलेर बसेको शंकरले जानकारी दिए ।
बनहरीका केही जेष्ट नागरिकले शंकरलाई चिनेको दाबी गरेका छन् । तर, उनी बारे आशंका ब्यक्त गर्नेहरुको पनि संख्या कम छैन । छोरीले मृत्यु घोषणाको माग गर्दै अदालतमा जाहेरी दिएपछि भाइ नेपबहादुरले ४८ बर्षपछि खोजेर भारतवाट ल्याएका शंकर बारे मुद्दा अदालतमा बिचाराधिन छ ।
यो मुद्दाको छिनोफानो कहिले र कसरी होला ? बनहरीमा आज यही बिषयले चर्चा पाउन थालेको छ । अदालतमा जेठ २० गते उपस्थित भइ फेरि शंकर भारतको नागाल्यान्ड तर्फ गइ सकेका छन् ।