घोराही, जेठ २५ । राप्ती साहित्य परिषदका संस्थापक अध्यक्ष एवम् वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले देशमा राजनीतिक परिवर्तनपछि प्राप्त उपलब्धी रक्षाका लागि साहित्यकारको भूमिका अझ बढाउनुपर्ने बेला आएको बताएका छन ।
राप्ती साहित्य परिषद केन्द्रको ४७औँ वार्षिकोत्सव तथा २४ औँ साधारण सभालाई शुक्रबार सम्बोधन गर्दै उहाँले मुलुकमा आएकोे परिवर्तनमा साहित्यकारहरुले गरेको योगदानलाई थप उचाईमा पुर्याउन थप जिम्मेवार ढंगले भुमिका निर्वाह गर्नुपर्ने बेला आएको बताए ।
परिषदका केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासीको अध्यक्षतामा भएको कार्यक्रममा परिषदका संस्थापक अध्यक्षसमेत रहनुभएका शर्माले देश विकासका लागि अबको एजेण्डा शान्ति र समृद्धि बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा उनले साहित्यमा ठूलो चेतनाको खानी रहने हुँदा साहित्यकारहरुले आफ्नो सिर्जनामा देश विकास र समृद्धिका कुरालाई रचनात्मक रुपमा उठान गर्नुपर्ने बताए ।
२०३४ सालमा स्थापित राप्ती साहित्य परिषदले यस क्षेत्रमा साहित्यको जग बसाल्ने कामको थालनी गरेको स्मरण गर्दै अहिले राप्ती साहित्य परिषदको दायरा र प्रभाव फराकिलो बन्दै गएको प्रति खुशी व्यक्त गरे ।
सो अवसरमा, नेपाल संस्कृत विश्व विद्यालयका शिक्षालय प्राध्यापक डा. भीम खतिवडाले साहित्य र साहित्यिक चेतनाको विरासतलाई फैलाउन परिषदले खेल्दै आएको भुमिका सबैका लागि अनुकरणीय रहेको बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठान समालोचना र साहित्य इतिहास विभागीय प्रमुख डा. मधुसुदन गिरी, वर्दघाट प्रज्ञा प्रतिष्ठान नवलपरासीका कूलपति डा. धनश्याम न्यौपाने, सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतम, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीलगायतले साहित्य, सिर्जनाको संस्थागत विकासमा राप्ती साहित्य परिषदले खेल्दै आएको भुमिकाले धेरै साहित्यकारलाई स्थापित गराउन सम्भब भएको बताए।
सो अवसरमा, २१ जनालाई पुरस्कृत एवम् सम्मानित गरिएको थियो भने ३ जना व्यक्ति र १ संस्था गरी ४ जनालाई सम्मान गरिएको थियो ।
पुरस्कृतहरुका तर्फबाट अनिल पौडेल, पुरण क्षेत्री, डा. दीपक गौतम, डा. इन्द्र भण्डारी तथा पुरस्कार संस्थापकका तर्फबाट कष्णकमल अधिकारी बोलेका थिए ।
परिषदका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटाको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रममा धन्यवाद ज्ञापन केन्द्रीय उपाध्यक्ष एवम् रुकुमपश्चिम अध्यक्ष मनलाल ओलीले व्यक्त गरेका थिए भने सहजीकरण महासचिव रमेश सुवेदीले गरेका थिए
कार्यक्रममा परिषदका केन्द्रसहित राप्तीका सबै जिल्ला शाखाबाट तथा विभिन्न साहित्यिक संघसंस्थाहरुबाट पनि सहभागी भएका थिए ।
यसैबीच, राप्ती साहित्य परिषदले आजै लुम्बिनी प्रदेश स्तरीय वृहत भाषिक साहित्यिक संगोष्ठी पनि सम्पन्न गरेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान समालोचना र साहित्य इतिहास विभागीय प्रमुख डा. मधुसुदन गिरीको अध्यक्षतामा कुसुण्डा भाषा र मगर खाम भाषाको विषयमा वृहत कार्यक्रम भएको छ ।
कुसुण्डा भाषाको बारेमा अध्ययनकर्ता उदय आले र मगर खाम भाषाको बारेमा हीतबहादुर थापा खामले कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रस्तुत गरिएको कार्यपत्र माथि डा. खगेन्द्र घोडासैनी र तिलबहादुर घर्ती मगरले सुझावसहित टिप्पणी गरेका थिए ।
राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष डा. टीकाराम उदासीले स्वागत तथा विषय प्रवेश गराउनुभएको कार्यक्रमको सहजीकरण परिषदका सचिव आदिम केसीले गरेका थिए ।