२०८१ असार ७ गते बिहिवार

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

दाङ, जेठ २१ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१ ÷ ८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

सोमबार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । जसमा कृषि, पर्यटन, उद्योग, वन, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका योजनालाई प्राथमिकतामा राखिएको छ ।


जनशक्तिको व्यवस्थापन तथा क्षमता विकास, अन्तर तहगत समन्वय र सहकार्य, सेवाग्राहीमैत्री सूचना प्रविधि लगायतका शासकीय सुधार र सुशासन सुदृढ गर्ने कार्यलाई प्राथमिकता दिने कुरा नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘व्यावसायिक कृषि – लुम्बिनी प्रदेशको समृद्धि’ भन्ने नारालाई आत्मसाथ गर्दै खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितता गर्न, कृषि उपजको आयात प्रतिस्थापन गर्न कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण गरि उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ ।

प्रदेश सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाई अनुत्पादक खर्च कटौती गर्ने र खर्चमा हुने दोहोरोपनालाई नियन्त्रण गर्न सूचना प्रविधिमा आधारित प्रणाली निर्माण गर्ने जस्ता कुरा नीति तथा कार्यक्रममा समेटिएका छन् ।

प्रदेश गौरवका आयोजनाहरू प्रदेश राजधानी सहरको विकास तथा निर्माण, राप्ती प्रादेशिक अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, एकीकृत आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिक्षण अस्पताल, रामपुर कपुरकोट सडक र लुम्बिनी प्राविधिक विश्वविद्यालयको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ।


तिनाउ कोरिडोर, कपिलवस्तुको तिलौराकोट र शिवपुर, प्यूठानको स्वर्गद्वारी र रूकुमकोटको गुरूयोजना तयार गरी आधुनिक, सुरक्षित र व्यवस्थित सहरको विकास गर्ने कामलाई पनि नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ।

त्यस्तै अघिल्ला सरकारहरुले अघि सारेका योजनाहरू जस्तै रोजगारी सृजना, सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा सुधार , स्रोत साधनको परिचालन लगायतका विषयपनि नीति तथा कार्यक्रममा समावेश गरिएका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *