२०८३ भाद्र २७ गते शनिवार

पाँच विद्यार्थीको हात भाँच्ने गरि कुटपिट गर्ने शिक्षिकालाई ‘अभद्र व्यवहार’ सम्वन्धि मुद्दा


दाङ, जेठ २१ । विद्यार्थीलाई ‘अनुशासन सिकाउने’ निहुँमा पाँच जना छात्राको हात भाँचिदिएकी रोल्पाको रुम्टीगढी गाउँपालिका ८ भानु आधारभूत विद्यालयकी शिक्षिका २५ बर्षीया लक्ष्मी पुनलाई प्रहरीले ‘अभद्र व्यवहार’ संवन्धि मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी दीपक खड्काले त्यस्तो जानकारी दिएका हुन ।

सोमबार विद्यालय छुट्टी भएपछि शिक्षिका पुनलाई ईलाका प्रहरी कार्यालय होलेरीवाट प्रहरी निरिक्षक मेघनाथ चौलागाँईको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको थियो । शिक्षिका पुनले विद्यार्थीलाई कुटपिट गरि हात नै भाँचिदिएको खवर सार्वजनिक भए लगतै रोल्पाका प्रहरी प्रमुख खड्काले शिक्षिका पुनलाई पक्राउ गर्न निर्देशन दिएका थिए । ‘हिजो पक्राउ गरेर ईप्रका होलेरीमा राखिएकी शिक्षिका पुनलाई आज जिल्ला प्रहरी कार्यालय रोल्पामा ल्याइदैछ । आजै जिल्ला प्रशासन मार्फत अनुसन्धानका लागि म्याद थप हुन्छ होला,’ डिएसपी खड्काले भने ।

ईप्रका होलेरीका प्रमुख प्रहरी निरिक्षक मेघनाथ चौलागाँईले विद्यार्थी कुटपिट गर्ने शिक्षिकालाई म्याद थपका लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा पठाइएको बताए । ‘ पक्राउ परेकी शिक्षिकालाई विहानको पहिलो गाडि मार्फत पठाइएको छ । झन्डै ४ घन्टाको यात्रा पछि मात्रै यहाँ वाट जिल्ला प्रहरी कार्यालय रोल्पामा पुग्न संभव हुन्छ,’ चौलागाँईले भने । अभिभावकको जाहेरीको आधारमा शिक्षिका पुनलाई ‘अभ्रद व्यवहार’ सम्वन्धि मुद्दा चलाइएको उनले जानकारी दिए । बाँकी कुरा आँफुभन्दा माथिल्लो निकाएले विचार गर्न सक्ने उनले बताए । अनुशासन कायम राख्न आफूले विद्यार्थीलाई कुटेको शिक्षिका पुनको दाबी छ । विद्यालयमा ढिला आएको, कपाल राम्रो संग नबाटेको, गालामा कोठी बनाएको हुँदा उनीहरुलाई अनुशासन सिकाउने आँफुले लठ्ठीले कुटेको पुनले पक्राउ पर्नु अघि प्रतिक्रिया दिएकी थिइन ।

शिक्षिका पुनमाथि १४ विद्यार्थीलाई कुटपिट गरेको आरोप लागेको छ । त्यसमध्य पाँच जनाको हात भाँचिएको छ।

प्रधानाध्यापक झगबहादुर भण्डारीले गत जेठ १२ गते पुनलाई निमित्त प्रअको जिम्मेवारी दिएर आँफु दुई दिने प्रअहरूको तालिममा गएको समयमा शिक्षिका पुनले ढिला आएको भन्दै विद्यार्थीलाई कुटपिट गरेको बताएका छन् । ‘तालिम वाट त्यो दिन म फर्केर आउँदा विद्यालय छुट्टी भइसकेको हुँदा अर्को दिन सामूहिक रूपमा सोध्दा ‘लक्ष्मी म्याडम’ले ढिला आएको हुँदा सबैलाई एक –एक लठ्ठी मात्रै हानेको हुँ भन्नु भएको थियो,’ प्रअ भण्डारीले भने ।

अविवाहित शिक्षिका पुनको कुटाइले विमला रोका,भिमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती र शान्ता नेपालीको हात भाँचिएको छ। शिक्षिकाको कुटाइले हात भाँचिएपछि उनीहरू उपचारका लागि दाङ आएका थिए।

आइतबार तुलसीपुरस्थित साहारा पोलिक्लिनिकमा उनीहरूको हातको प्लाष्टर गरिएको सञ्चालक विष्णु शर्माले जानकारी दिएका छन् ।

उपचारमा संलग्न डा. घनश्याम शर्माका अनुसार घाइते बालिकाहरूको जोर्नी, नाडी, कुइनो र काँधमा चोटपटक लागेको छ। उनीहरूको हात तथा अनुहार समेत सुन्निएको छ। सबैलाई १५ दिनपछि फेरि फलोअप चेकअपका लागि डाकिएको डा.शर्माले जानकारी दिए ।

घाइतेमध्ये कक्षा ८ मा अध्ययनरत १४ वर्षीया गौरी घर्तीले कपाल राम्रोसँग किन नबाटेको, किन लिपिष्टिक लगाएको, गालामा कोठी किन बनाएको? भन्दै सालको काठको पटरी (चिरपट)ले शिक्षिका पुनले आँफुहरुलाई कुटेको सेतोपाटीलाई फोनमा जानकारी दिइन्।

‘मैले लिपिष्टिक लगाएकै थिइनँ,कपाल पनि दुई चुल्ठी बाटेकी थिएँ,’ घर्तीले भनिन, ‘मेरो गालाको जन्मजातको कोठीलाई किन कोठी बनाइस् भनेर सालको चिरपटले हान्नु भयो।’

घाइते छात्रा घर्तीका अनुसार विद्यालयको बिहानी प्राथर्ना सुरू हुनुभन्दा ५ मिनेट ढिला गरी पुगेका कक्षा ८ मा अध्ययनरत भीमकुमारी बाँठा र कक्षा ६ मा अध्ययनरत निर्मला पुनलाई शिक्षिका पुनले पनि सार्वजनिक रूपमै विद्यालयको प्राङ्गणमै लाइन लगाएर चिरपटले कुटेकी थिइन्।

‘कसैलाई किन ढिला आइस् र कसैलाई किन कपाल राम्रो बाटिनस् भनेर कुट्नु भयो,’ घाइते छात्रा गौरी घर्तीले भनिन्, ‘जहाँ हाम्रो कुनै गल्ती नै थिएन।’

विद्यार्थीमाथि कुटपिट भएपछि वडा नं. ८ का वडा अध्यक्ष भीमबहादुर घर्तीको रोहबरमा औषधि उपचार गर्ने सहमति गरिएको थियो। तर घाईते विद्यार्थीको हातहरु थप सुन्निदै गएपछि, झनै दुख्दै गएपछि उनीहरु अभिभावकसहित दाङको तुलसीपुरमा उपचारका लागि आएका थिए ।

अर्का अभिभावक जीतबहादुर रोकाले घटनालाई स्थानीयस्तरमै मिलाएर ढाकछोप गर्न खोजिएको आरोप लगाए।

वडा अध्यक्ष भीमबहादुर घर्तीको रोहवरमा घटना सार्वजनिक हुन नदिन र स्थानीयस्तरमा मिलाउन धेरै प्रयास भए पनि त्यो सम्भव नभएपछि मात्रै घटना सार्वजनिक हुन पुगेको हो।

‘सामान्य घटना हो, तपाईंहरू मिल्नु पर्छ भन्ने निरन्तर दबाब थियो। हामीले पनि त्यसमा अन्यथा मानेका थिएनौं। तर हात सञ्चो नभएपछि हामी बाध्य भयौं र मिडियाले हामीलाई थाहा पाएर पछ्याउँदै आएको हो,’ रोकाले भने।

पुनले कक्षा १ मा पढ्नेदेखि ८ कक्षासम्म पढ्ने विद्यार्थीलाई कुटेकी हुन्। कक्षा १ मा अध्ययनरत प्रेम पुन, सन्तोष बुढामगर, दीपा बाँठा, वीरबहादुर घर्ती, अरुणा पुन, सुशिला बिक, विपना घर्ती, मनकुमारी घर्ती र पूर्णकली घर्तीलगायतमाथि शिक्षिका पुनले कुटपिट गरेकी थिइन्।

प्रकाशित मिति : २०७६ जेष्ठ २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *